महँगी र भ्रष्टाचारविरुद्ध देशव्यापी आवाज उठाउन प्रचण्डको आह्वान

महँगी र भ्रष्टाचारविरुद्ध देशव्यापी आवाज उठाउन प्रचण्डको आह्वान

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढ्दो महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध देशव्यापी रूपमा आवाज उठाउन आम नागरिकलाई आह्वान गरेका छन्।

पार्टीको ‘राष्ट्रिय जागरण अभियान’को शनिबार उद्घाटन गर्दै उनले निरङ्कुशता र अराजकताको विरोधमा पार्टीको अभियानमा जोडिन आव्हान गरे। देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले जनजीविकाका आधारभूत सवालहरू थप जटिल बनेको बताए।

"ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ," प्रचण्डले भने, "महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्।"

विगतका कामहरूको इमानदार समीक्षा र कमजोरीप्रति आत्मालोचना गर्दै जनताको विश्वास र भरोसा बलियो बनाउनु आफ्नो दायित्व भएको उनले बताए। प्रचण्डले भने, "सरकारमा रहँदा हाम्रो तर्फबाट सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहन्छौं।"

उनले अभियानमार्फत जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्याइ समाधानका लागि निरन्तर पहल गरिने बताए। साथै जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिइने उनले बताए।

"हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो," प्रचण्डले भने। नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। 

कात्तिक ७, २०८३ शनिबार १७:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।