उड्न ठिक्क परेको विमानबाट ओरालिए नेपाल घुमेर फर्किन लागेका लातभियन नागरिक
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उड्नै लागेको टर्किस एयरलाइन्सको जहाजबाट एक जना विदेशी यात्रुलाई अन्तिम समयमा अफलोड (बाहिर विमानबाट निकाल्नु) गरिएको छ।
काठमाडौंबाट इस्तानबुल उड्ने तालिका रहेको टर्किस एयरलाइन्सको उडान नम्बर टीके-७२७ बाट लातभियाका नागरिक माटिस काल्निन्सलाई सुरक्षा र एयरलाइन्सको आन्तरिक प्रोटोकलअनुसार जहाजबाट ओरालिएको हो।
यात्रुलाई जहाजबाट ओराल्ने प्रक्रियाका कारण दिउँसो १ बजेका लागि निर्धारित उडान करिब एक घण्टा ढिला भई २ बजे मात्र इस्तानबुलका लागि उडेको थियो।
विमानस्थल सुरक्षा स्रोतका अनुसार ती लातभियन नागरिक यसअघि नेपाल आउने क्रममै जहाजभित्र अभद्र व्यवहारमा संलग्न थिए।
गत अक्टोबर ९ टर्किस एयरलाइन्सकै उडानमार्फत काठमाडौं आउँदा उनले अत्यधिक मदिरा सेवन गरी छेउको सिटमा बसेकी महिला यात्रुमाथि दुर्व्यवहार गरेका थिए।
सो घटनालगत्तै जहाजका क्याबिन क्रूले उनलाई अनियन्त्रित यात्रुका रूपमा पहिचान गरी एयरलाइन्सको आन्तरिक सुरक्षा रेकर्ड (कालोसूची/नो-फ्लाई लिस्ट) मा राखेका थिए।
पर्यटकीय भिसामा नेपाल घुम्न आएका काल्निन्स सोमबार सोही एयरलाइन्सको टिकट काटेर फर्कन विमानस्थल पुगेका थिए।
विमानस्थलको सुरक्षा जाँच पार गरी उनी जहाजभित्र सिटमा बसिसकेका थिए। तर, बोर्डिङको अन्तिम समयमा क्याबिन क्रूले उनलाई विगतमा महिलामाथि दुर्व्यवहार गर्ने पुरानै यात्रु भएको पहिचान गरे।
एयरलाइन्सको नियमअनुसार त्यस्ता यात्रुलाई आफ्नो विमानमा यात्रा गराउन नमिल्ने भन्दै क्रू टोलीले उनलाई तत्कालै जहाजबाट बाहिर निकालेको हो।
विमानस्थल सुरक्षा प्रमुख भन्छन् : ‘यो एयरलाइन्सको आन्तरिक प्रोटोकलको कारबाही हो’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले टर्किस एयरलाइन्सले आफ्नो आन्तरिक सुरक्षा नियम पालना गर्दै ती यात्रुलाई यात्रा गर्न अस्वीकार गरेको पुष्टि गरे।
“ती यात्रु ९ तारिखमा नेपाल आउँदा जहाजभित्रै रक्सी खाएर महिला यात्रुसँग मिसबिहेभ गरेको पृष्ठभूमि रहेछ,” एसपी सिलवालले भने, “एयरलाइन्सको क्याबिन क्रूले त्यस्ता यात्रुको विवरण याद राख्ने गर्छन्। उनीहरूको आन्तरिक नियममै हाम्रो जहाजमा चढाउँदैनौँ भन्ने रहेछ। आज बोर्डिङ भइसकेपछि पनि क्रूले पहिचान गरेर उनलाई जान दिएनन् र अफलोड गरे।”
एसपी सिलवालका अनुसार यो नेपाल प्रहरी वा विमानस्थल अध्यागमनको भन्दा पनि सम्बन्धित वायुसेवा कम्पनीको आफ्नै सुरक्षा नीति र अधिकार क्षेत्रभित्रको कारबाही हो।
विमानस्थलमै रोकिए यात्रु, कतार एयरवेजबाट पठाउने तयारी
टर्किस एयरलाइन्सले आफ्नो जहाजबाट निकालेपछि ती लातभियन नागरिक विमानस्थल बाहिर भने निस्किएका छैनन्। उनलाई नेपालस्थित सुरक्षा निकायको निगरानीमा विमानस्थल परिसरमै राखिएको छ।
टर्किस एयरलाइन्सले यात्रा गर्न रोक लगाएपछि उनलाई वैकल्पिक व्यवस्थास्वरूप सोमबार साँझ ७ बजे कतार एयरवेजको उडानमार्फत दोहा हुँदै आफ्नो गन्तव्यतर्फ पठाउने तयारी भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
कात्तिक ९, २०८३ सोमबार १४:४७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।