एनपीएलमा श्रीलंकाका कुशल जनकपुरबाट खेल्ने
काठमाडौं : श्रीलंकाका अनुभवी विकेटकिपर-ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।
जनकपुर बोल्ट्सले आज (आइतबार) आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत परेरालाई टोलीमा अनुबन्ध गरिएको औपचारिक जानकारी दिएको हो।
परेरालाई स्वागत गर्दै जनकपुरले लेखेको छ, “निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्त्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपीएलको तेस्रो संस्करणका लागि टोलीमा आबद्ध भएका छन्।”
परेराले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) सहित विश्वका सातवटा विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन्। एनपीएल उनका लागि आठौँ फ्रेन्चाइज लिग हुनेछ।
श्रीलङ्काको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलिसकेका परेराले २२ टेस्ट खेलबाट १ हजार १७७ रन बनाएका छन्। यस्तै, ११६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ हजार २३७ रन तथा ९५ टी-२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ३३५ रन उनको नाममा छ।
जनकपुरले यसअघि नै इंग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिमी निसम, पाकिस्तानका इफ्तिखार अहमद र अमेरिकाका हरमीत सिंहलगायतका अन्तर्राष्ट्रिय खेलाडीहरूलाई अनुबन्ध गरिसकेको छ।
एनपीएलको तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।
कात्तिक ९, २०८३ सोमबार ११:०४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।