सम्बन्धित बोर्डले एनओसी नदिए हामीले केही पनि गर्न सक्दैनौँ : क्यान सचिव खड्का
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आउने विदेशी खेलाडीहरूलाई सम्बन्धित देशको क्रिकेट बोर्डले अनुमति नदिए क्यानले केही गर्न नसक्ने बताएका छन्।
एनपीएलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले खेलाडीहरूको ‘नो-अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) रोकेको चर्चाबारे सोधिएको प्रश्नमा सचिव खड्काले बोर्डको अनुमति खेलाडीको आन्तरिक विषय भएको स्पष्ट पारे।
खड्काले भने, “कुनै पनि खेलाडी आफ्नो देश छोडेर अर्को देशको लिग खेल्न जाँदा आफ्नो बोर्डबाट स्वीकृति लिनैपर्ने हुन्छ। यदि बोर्डले अनुमति नै दिएन भने हामी कसैले पनि त्यसलाई न रोक्न सक्छौँ, न त कन्ट्रोल गर्न नै सक्छौँ।”
यद्यपि, हालसम्म नेपाल आइपुगेका विदेशी खेलाडीहरू एनओसी लिएरै आएको उनले दाबी गरे। बाँकी खेलाडीहरूको सहभागिता सुनिश्चित गर्न सम्बन्धित बोर्डका पदाधिकारीहरूसँग क्यानले लगातार समन्वय गरिरहेको र यो समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
विश्व क्रिकेटमा अहिले फ्रेन्चाइज लिग र घरेलु तथा अन्तर्राष्ट्रिय खेलहरू जुध्ने ठूलो चुनौती रहेको उल्लेख गर्दै खड्काले हरेक देशका बोर्डहरूको आ-आफ्नै नीति हुने स्मरण गराए।
“एसियाली क्षेत्रमा अहिले घरेलु क्रिकेटको सिजन सुरु भइरहेको छ। कतिपय बोर्डले घरेलु प्रतियोगितालाई प्राथमिकता दिन्छन् भने कतिपयले खेलाडीलाई सीमित लिग मात्र खेल्न पाउने नियम बनाएका छन्”, उनले थपे।
बोर्डको निर्णय आफ्नो हातमा नरहे पनि आईसीसीको आधिकारिक मान्यताप्राप्त एनपीएलमा खेलाडीहरू ल्याउन क्यानले आवश्यक कूटनीतिक र प्रशासनिक सहजीकरण जारी राखेको खड्काले बताएका छन्।
कात्तिक ८, २०८३ आइतबार २१:४९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।