एनओसी नपाउँदा एनपीएलमा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागितालाई लिएर अन्योल सिर्जना भएको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट आवश्यक ‘नो-अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नपाएका कारण यस्तो अवस्था आएको हो।
क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फो अनुसार, यसअघि नै एनओसी पाइसकेका केही खेलाडीहरूलाई समेत लिग खेल्ने अनुमति हालका लागि ‘होल्ड’ गरिएको जानकारी गराइएको छ।
एनपीएल सम्बद्ध स्रोतहरूका अनुसार पीसीबीले प्रत्येक खेलाडीको एनओसीबापत करिब २५ हजार अमेरिकी डलर (करिब ३८ लाख नेपाली रुपैयाँ) माग गरेको बताइएको छ।
यद्यपि, पीसीबीले यस्तो माग लिखित रूपमै गरेको हो वा होइन भन्नेबारे पुष्टि हुन सकेको छैन भने पीसीबीले यसबारे कुनै औपचारिक प्रतिक्रिया पनि दिएको छैन।
एनपीएल खेल्नका लागि केही पाकिस्तानी खेलाडीहरू काठमाडौं आइपुगिसकेका छन्। नेपाल आउने तयारीमा रहेका अन्य खेलाडीहरूले भने यो विषय नटुंगिएसम्म आफ्नो यात्रा रोकेका छन्। ८ वटा टोली सहभागी हुने एनपीएल भोलिदेखि नोभेम्बर २१ सम्म काठमाडौंमा आयोजना हुँदैछ।
एनपीएलमा आबद्ध पाकिस्तानी खेलाडीहरूमा पाकिस्तानका टी-२० कप्तान साहिबजादा फरहान, हैदर अली, हुनैन शाह, हुसेन तलत, इफ्तिकार अहमद, हसन अली र उसामा मिर रहेका छन्। यीमध्ये कुनै पनि खेलाडी हाल पाकिस्तानको राष्ट्रिय टोलीको खेल तालिकामा व्यस्त छैनन्।
पीसीबीले यसअघि ल्याएको नयाँ केन्द्रीय सम्झौताको नीतिअनुसार राष्ट्रिय टोलीको खेलसँग नजुधेको अवस्थामा टी-२० विशेषज्ञ खेलाडीहरूलाई फ्रेन्चाइज लिग खेल्ने स्वतन्त्रता दिने व्यवस्था गरेको थियो।
एनपीएल खेल्न लागेका खेलाडीहरू हाल पाकिस्तानको टेस्ट वा एकदिवसीय टोलीको योजनामा नरहे पनि एनओसीको अन्योल कायमै रहेको छ।
कात्तिक ८, २०८३ आइतबार २१:२२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।