एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ।
आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताका विजेताले पाउने रकमबारे जानकारी दिएको हो।
त्यस्तै, यसपटक उपविजेताले ८० लाख रूपैयाँ पाउनेछ भने तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए।
अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि ४० लाखले बढाइएको छ।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड १० लाख पुरस्कार पाएको थियो। यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ।
क्यानका अनुसार प्रतियोगिताको प्रसारण अधिकार (ब्रोडकास्टिङ) तथा टेलिभिजन/ओटीटी बाट करिब २० करोड रुपैयाँ आम्दानी हुनेछ भने बाँकी ५० करोड रुपैयाँ टिकट बिक्री र मार्केटिङबाट सङ्कलन हुने अपेक्षा गरिएको छ।
त्यस्तै, प्रायोजन (स्पोन्सरसिप) बाट २० करोड र विभिन्न फ्रेन्चाइज टोलीहरूमार्फत करिब ७५ करोड रुपैयाँ बराबरको कारोबार हुने क्यानले जनाएको छ। झन्डै १ महिना चल्ने यस प्रतियोगितामा प्रायोजन, टिकेट विक्री तथा विभिन्न टिमले गर्ने खर्चसहित करिब डेढ अर्बको कारोबार हुने क्यानको अनुमान छ।
प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ५ सम्म चल्नेछ। प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ।
कात्तिक ८, २०८३ आइतबार १७:३८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।