दशैँका तीन फिल्म : एक्सन, राजनीति र आँसु !
काठमाडौँ : सिक्वेल बनाउनु भनेको अघिल्लो सफलताको ब्याज खाने मेसो मात्र होइन, अघिल्ला कमजोरीलाई सुधारेर अझ परिपक्व सिनेमा पस्कने अवसर पनि हो। तर, हलमा एकैसाथ वा पालैपालो आइपुगेका ‘१२ गाउँ-२’, ‘छ माया छपक्कै-२’ र ‘आ बाट आमा-२’ ले दर्शकको अपेक्षालाई कति सम्बोधन गर्न सके?
एउटा फिल्म प्राविधिक रूपमा अघि बढे पनि कथा र निर्देशनमा पुरानै ढर्रामा अल्झिएको छ, अर्कोले विशुद्ध कमेडीको अपेक्षा बोकेका दर्शकलाई अप्रत्याशित राजनीतिक चेतले चकित पारेको छ, भने तेस्रो चाहिँ दृश्य भाषा बिर्सेर कलाकारलाई केवल रुवाउनमै सीमित भएको छ। यी तीनै सिक्वेलको समीक्षा :
१. १२ गाउँ-२ : बिराजको अर्को ‘डिजास्टर’
- निर्देशन/अभिनय: बिराज भट्ट र समीर भट्ट
- मुख्य कलाकार: बिराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, वर्षा इटानी लगायत।
- सकारात्मक पक्ष: पहिलो भागको प्रचारशैलीमा देखिएको ट्रोल गर्ने खराब अभ्यास यसपटक बन्द गर्नु, एक्सन दृश्य र प्राविधिक पक्षमा सुधार हुनु, तथा समीर भट्टमा बलियो हिरो बन्ने सम्भावना कायम रहनु
- कमजोरी: कमजोर पटकथा, तीन घण्टाभन्दा लामो सुस्त कथा, खलनायक (अनुपविक्रम शाही) को फितलो र छोटो भूमिका, तथा ९० को दशकको पुरानो ढाँचाको प्रस्तुति।
- निष्कर्ष: बक्स अफिसमा सफल भए पनि विषयवस्तु र निर्देशकीय दृष्टिकोणबाट यो फिल्म कमजोर नै साबित भएको छ।
२. छ माया छपक्कै-२ : दीपेन्द्र र दीपकको सरप्राइज
- निर्देशक: दीपेन्द्र लामा
- मुख्य कलाकार: दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, रमा थपलिया, दीपाश्री निरौला लगायत
- सकारात्मक पक्ष: ट्रेलरमा देखाएजस्तो केवल घरायसी वा प्रेमिका-श्रीमतीको चेपुवाको कथा नभई समाज र राजनीतिक चेत (महाभारतको बिम्ब प्रयोग गर्दै) जोड्नु। उत्कृष्ट संवाद, प्रकाश घिमिरे र दीपकको अभिनय, तथा बलियो क्लाइमेक्स
- कमजोरी: अघिल्ला फिल्महरूको तुलनामा कमेडीको मात्रा कम हुनु, बीच-बीचमा कथा सुस्त हुनु, र केही ठाउँमा राजनीतिक दर्शन मिसाउँदा कथा बहकिएको अनुभव हुनु।
- निष्कर्ष: केवल हँसाउने कमेडी मात्र नभई राजनीतिक र सामाजिक यथार्थ बोकेको, दीपक-दीपाको सिरिजमध्ये एक बलियो फिल्म।
३. आ बाट आमा-२ : आँसुको ओभरडोज
निर्देशक: चन्द्र पन्त
- मुख्य कलाकार: पल शाह, बिपना थापा, मलिका महत, आकाश श्रेष्ठ लगायत
- सकारात्मक पक्ष: आमा-छोराको सम्बन्ध र वैदेशिक रोजगारीको विखण्डनलाई विषयवस्तु बनाइनु। मलिना महत र पल शाहको बलियो अभिनय तथा राम्रो गीत-सङ्गीत
- कमजोरी: निर्देशकले जबरजस्ती अति धेरै रुवाउने शैली अपनाउनु (रोदनको ओभरडोज), पहिलो हाफ निकै सुस्त हुनु, र आमा-छोरा तथा प्रेमी-प्रेमिकाबीचको सम्बन्धलाई राम्रोसँग स्थापित नगरिनु
- निष्कर्ष: कलाकारहरूको राम्रो अभिनय हुँदाहुँदै पनि कमजोर पटकथा र निर्देशकको 'अति-रुवाबासी' गराउने शैलीका कारण फिल्मले आफ्नो वास्तविक क्षमता देखाउन सकेको छैन।
कात्तिक ४, २०८३ बुधबार ०९:२५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।