रुकुम पश्चिममा घरनजिकै खेलिरहेका ६ वर्षीय बालकको ढुङ्गा प्रहारबाट मृत्यु

रुकुम पश्चिममा घरनजिकै खेलिरहेका ६ वर्षीय बालकको ढुङ्गा प्रहारबाट मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा घरनजिकै खेलिरहेका ६ वर्षीय बालकको ढुङ्गा प्रहारबाट मृत्यु भएको छ।

बाँफिकोट गाउँपालिका-२ स्वाराका बलबहादुर नाथका छोरा रमेश नाथको टाउकोमा ढुङ्गा प्रहार हुँदा ज्यान गएको हो। बालकमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५:३० बजे बालक घर छेउको बाटोमा खेलिरहेका थिए। सोही क्रममा भक्तबहादुरले एक्कासि बालकको टाउकोमा ढुङ्गाले हिर्काएका थिए।

ढुङ्गा प्रहार गर्ने भक्तबहादुरको मानसिक स्वास्थ्य अवस्था असामान्य रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आक्रमणबाट गम्भीर घाइते भएका बालकलाई तत्काल स्थानीय पिपल स्वास्थ्य चौकी लगिएको थियो।

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनालगत्तै आरोपीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कात्तिक ७, २०८३ शनिबार ०९:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।