'रामायण'मा रावण बन्न किन तयार भए अभिनेता यश ?

'रामायण'मा रावण बन्न किन तयार भए अभिनेता यश ?

एजेन्सी : नितेश तिवारीको निर्देशनमा निर्माण भएको फिल्म ‘रामायण’ आगामी नोभेम्बर ५ मा तिहारको अवसर पारेर प्रदर्शन हुँदैछ। बजेट र कलाकार छनोटका कारण चर्चामा रहेको रामायणमा रावणको भूमिकामा देखिँदै छन्, अभिनेता यश। 

फिल्मका सह-निर्माता समेत रहेका यशले आफूले निर्वाह गरेको रावणको भूमिकाबारे बीबीसीसँग चर्चा गरेका छन्। स्थापित र नकारात्मक छवि भएको पौराणिक पात्रलाई पर्दामा उतार्नु अभिनेताका रूपमा निकै जटिल र चुनौतीपूर्ण हुने उनको भनाई छ।

फिल्ममा बलिउड अभिनेता रणवीर कपुरले ‘राम’ र अभिनेत्री साई पल्लवीले ‘सीता’को भूमिका निर्वाह गरेका छन्। त्यसैगरी कन्नड फिल्म उद्योगका चर्चित अभिनेता यशले ‘रावण’को चरित्रमा अभिनय गरेका छन्।

कर्नाटकको हासन जिल्लामा जन्मिएका यशको वास्तविक नाम नवीन कुमार गौडा हो। तर, उनी दर्शकमाझ ‘रकिङ स्टार यश’को रूपमा परिचित छन्। यसअघि ‘बलिउड हंगामा’सँगको एक अन्तर्वार्तामा नवीन कुमार गौडा भनेर सम्बोधन गर्दा आउने प्रतिक्रियाबारे सोधिएको प्रश्नमा उनले ठट्टाको शैलीमा ‘को हो यो?’ भनी जवाफ दिएका थिए।

रावणको भूमिका निर्वाह गर्ने विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै यशले यो अत्यन्त जटिल पात्र भएको उल्लेख गरेका थिए। उनले भनेका थिए, "यो निकै जटिल पात्र हो। जसलाई मानिसहरू घृणा गर्छन् र हरेक वर्ष उसको पुत्ला दहन गर्छन्। यसले देखाउँछ कि उसले आफ्नो कस्तो स्तरको पहिचान स्थापित गरेको छ।"

कुनै पनि नयाँ कथा र नयाँ पात्रमा अभिनेताले गरेको काम नै त्यसको पहिचान बन्ने भएता पनि पहिलेदेखि नै जनमानसमा गहिरो छाप परेको पौराणिक चरित्र प्रस्तुत गर्दा कलाकारमाथि अतिरिक्त दबाब हुने यशको भनाइ छ। 

रावणलाई पर्दामा विश्वसनीय ढंगले उतार्नका लागि उनले गरेका क्रियाकलाप र त्यस पछाडिको सोच तथा कारणलाई बुझ्ने प्रयास आफूले गरेको उनले बताए। यशले भनेका थिए, "मलाई लाग्यो, रावणलाई पर्दामा प्रस्तुत गर्ने सबैभन्दा राम्रो तरिका भनेको उसको सोच र उसले गरेका कामपछाडिका कारण बुझ्नु हो।"

कात्तिक ८, २०८३ आइतबार ११:४७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।