आ बाट आमा-२ : आँसुको ओभरडोज
"कति रोएको, ए बाबा कति रोएको क्या, भयो क्या अति भयो!"-फिल्म 'आ बाट आमा-२' हेर्दै गर्दा दर्शकको मनमा उब्जिने मुख्य प्रश्न यही नै हो।
दर्शकको मनमा करुणा भाव जगाउन र मुटु भक्कानिने गरी रुवाउन फिल्ममा कतिसम्म कलाकारलाई रुवाउने? पर्दामा कलाकार रोएको रोयै गरेकै भरमा दर्शक पनि कलाकारसँगै रुन्छन् त? दृश्य भाषामा काम गर्नुको साटो निर्देशकले फिल्मका पात्रहरूलाई यसरी नै संवाद र आँसुको भारी बोकाएर फिल्मको नामै संशोधन गरेर ‘आ बाट आमा-२’ हैन, ‘आ बाट आँसु’ राखेको भए हुने भन्ने बराबर बनाएका छन्।
पहिलो फिल्मका कलाकारहरू त छन् नि भन्ने कुतर्क गरे अलग नत्र, फिल्म ‘आ बाट आमा’को सिक्वेल हो भन्न पहिलो फिल्मको कथासँग सम्बन्ध देखिँदैन। कथागत सम्बन्ध र संरचना नै अलग छ।
ट्रेलरमै देखाइएको—साङ्लोमा बाँधिएकी कुकुरको आमाले बच्चा बचाउन गरेको संघर्ष र पल शाहले ज्यानको बाजी लगाएर त्यसलाई बचाउन खोजेको दृश्यले नै फिल्मको मूल मर्म (आमा-छोराको सम्बन्ध) लाई दर्साउँछ। बाध्यताले पिछडिएको आमा-छोराबीचको पुनर्मिलनमा आउने उतारचढाव नै यसको मुख्य पक्ष हो।
फिल्मको मुख्य थिम नै छोरा र आमाबीचको सम्बन्ध, पारिवारिक बाध्यता, र वैदेशिक रोजगारीले नेपाली परिवारमा ल्याउने विखण्डन तथा सम्बन्धका उतारचढावहरू नै हुन्। फिल्ममा देवकी (आमा), वासुदेव (बाबु), कृष्ण र बलराम (छोराहरू), तथा राधा (प्रेमिका) जस्ता पात्रहरू राखेर रामायण पो हो कि क्या हो जस्तो भान परे पनि रामायणसँग पनि यसको कतै थिम मिल्दैन। उही पात्रका नाम मिल्छन्। श्रवणकुमार पनि छुस्स घुसाएका छन् निर्देशकले।
यो फिल्मको सर्प्राइज राधा बनेकी मलिका महतको अभिनय हो। उनको अभिनय बलियो छ फिल्ममा। कृष्ण बनेका पल शाह केही भावनात्मक दृश्यमा केही लाउड देखिए पनि समग्र अभिनयमा आलोचना गरिरहनु पर्ने ठाउँ दिएका छैनन्।
निर्देशकले बोकाएको आँसु र संवादको भारी बिसाउने हो भने बिपना थापाको अभिनय पनि बलियै देखिन्छ। बलरामको भूमिकामा देखिएका साइग्रेसको अभिनय र भूमिका औसत मात्र छ। आकाश श्रेष्ठको भूमिका सुहाउँदो छ भने प्रदीप रावलले चरित्र अनुसारको सही अभिनय गरेका छन्। रिस्ता गुरुङले डेब्यु फिल्म हिसाबले ठिकै काम गरेकी छिन्।
फिल्मका गीतहरू कथा र दृश्यसँग सुहाउँदा छन्। पारिवारिक कथाभित्र सस्पेन्स थ्रिलर र कमेडीको सम्मिश्रण गर्ने प्रयास गरिएको छ।
फिल्म बलियो बन्न सक्ने यस्ता मेटेरियलहरु नभएका हैनन्, टन्न छन्। कलाकारहरूले अभिनयमा धोका दिएका छैनन्। गीत-संगीत पक्ष बलियो नै छ। तर निर्देशक चन्द्र पन्त नै यो फिल्मको सबैभन्दा ठूलो कमजोरी बने।
फिल्मको सबैभन्दा कमजोर पक्ष नै निर्देशन हो। उनले दर्शकलाई रुवाउन यति धेरै ठाउँमा भावनाको खोँचे थापेका छन् कि त्यो गन्न पनि सम्भव छैन। कलाकारहरूले अभिनयमा जति मिहिनेत गरेका छन्, त्यति कथा, पटकथा र संवादमा ध्यान दिएको देखिँदैन।
भावनात्मक फिल्म बनाउने नाममा निर्देशकले पात्रहरूलाई निरन्तर मात्र हैन अति नै रुवाइएका छन्। प्रदीप रावतसँगको केही रोमान्टिक सिन बाहेक बिपना थापा नरोएको दृश्य दुर्लभै छ। पल शाहको दोस्रो हाफका दृश्यहरूमा पनि रोदनको 'ओभरडोज' नै छ।
बिपना कृष्ण भनिरहने अनि कृष्ण बनेका पल आमा भनिरहने। दुवैको संवाद र रुवाइ देखेर हेर विचरा भन्ने भाव हैन “क्या पिन्चे फिल्म रैछ’ भन्ने भाव आउँछ।
फिल्म भनेको दृश्यात्मक भाषा भएकाले यसमा दृश्यको प्रधानता हुनु पर्ने हो। तर यहाँ त पात्र कि फतरफतर बोलिरहेका भेटिन्छन् कि रोइरहेका। दृश्यका माध्यमबाट दर्शकको मन भक्कानिने बनाउन सकिने ठाउँ नभएका पनि हैनन्। तर त्यतातिर लाग्ने टन्टा गरेका छैनन् निर्देशकले। ‘ल बिपना रोउ, ल पल चिच्याउ’ भन्ने पाराको निर्देशन देखिन्छ फिल्ममा।
दोस्रो हाफमा आमा-छोराबीच जुन तहको रोदन देखिन्छ उनीहरुबीच त्यो तहको भावनात्मक सम्बन्ध छ है भनेर पहिलो हाफमा स्थापित गर्न निर्देशक चुकेका छन्। आमा र सन्तानको सम्बन्ध विशेष हुन्छ नै। तर त्यसलाई थप विशेष बनाउनका लागि केही न केही पक्ष त चाहिन्छ जसबाट दर्शक कन्भिन्स हुन सकुन्। त्यतातिर निर्देशकले वास्ता गरेको अनुभव हुन्न।
अनि कृष्ण (पल शाह) एवं रिस्ता गुरुङबीचको भावनात्मक सम्बन्धलाई पनि राम्रोसँग स्थापित नै गरिएको छैन। दर्शकले नै ए यस्तो होला भनेर आफैँले अनुमान गर्नुपर्ने अवस्था छ।
पहिलो हाफ निकै सुस्त छ, जसले दर्शकको धैर्यको मज्जाले परीक्षा लिन्छ। दोस्रो हाफले अलि गति लिए पनि अति-रुवाबासीले मूल कथालाई उठ्नै दिन्न। कथालाई कलाकारको आँसुले बगाएर कथा भित्तामा पुर्याउँछ कता।
उता ब्याकग्राउन्ड म्युजिक र सहायक प्लटहरूले पनि फिल्मलाई अड्याउन सकेका छैनन्। विदेशका दृश्यहरू र अन्य छायाङ्कनमा कुनै नयाँपन वा 'वाह' भन्ने खालको दृश्य पाइँदैन।
अन्त्यमा, 'आ बाट आमा-२' मा भावनात्मक रूपमा दर्शकलाई जोड्ने र वैदेशिक रोजगारीको सामाजिक यथार्थलाई प्रस्तुत गर्ने प्रशस्त सम्भावनाहरू थिए। कलाकारहरूले आफ्नो तर्फबाट फिल्मलाई बलियो बनाउन भरपुर प्रयास गरेका पनि छन्।
तर, कमजोर पटकथा, सम्पादनमा ढिलासुस्ती र निर्देशकको अति-रुवाबासी गराउने शैलीका कारण फिल्मले आफ्नो वास्तविक क्षमता देखाउन सकेको छैन। यदि निर्देशकले जबरजस्ती रुवाउनुको साटो दृश्य भाषा, कथाको गति र संवादमा मिहिनेत गरेको भए यो एउटा सम्झनायोग्य पारिवारिक फिल्म बन्न सक्थ्यो।
कात्तिक २, २०८३ सोमबार १५:४०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।