काठमाडौंको न्युरोडबाट उठाइएका शेख जावेदलाई जाली भारू कारोबारमा भारतमा साढे नौ वर्ष जेल
काठमाडौं : नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेको अभियोगमा नेपाली नागरिक शेख जावेद इकबाललाई भारतको एक अदालतले ९ वर्ष ७ महिना जेल सजाय सुनाएको छ।
उत्तर प्रदेशको आतंकवाद विरोधी दस्ता (एटीएस) को प्रेसनोट अनुसार विशेष अदालतले पर्साका जावेद उर्फ अशफाक अन्सारी उर्फ जावेद अन्सारीलाई दोषी ठहर गर्दै कैदसँगै ३० हजार भारतीय रूपैयाँ जरिवानाको फैसला सुनाएको हो।
भारतीय सुरक्षा निकायले जावेदलाई सन् २०१५ फेब्रुअरी २३ (२०७१ फागुन) मा नेपाल-भारत सीमावर्ती सहर सुनौली (महाराजगञ्ज) बाट पक्राउ गरिएको दाबी गर्दै आएको छ। तर, वास्तविकता भने बेग्लै थियो।
काठमाडौंको न्युरोडमा कपडा व्यवसाय गरिरहेका उनलाई न्युरोड गेट अगाडिबाटै ‘अपहरण शैली’मा गाडीमा हालेर सीमापार पुर्याइएको पछि खुलेको थियो।
श्रीमान्लाई अज्ञात समूहले जबरजस्ती उठाएर लगेको भन्दै उनकी पत्नीले तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत दिएकी थिइन्।
भारतीय एटीएसले उनलाई सीमाक्षेत्रबाट ठूलो परिमाणको जाली नोटसहित पक्राउ गरिएको भन्दै सार्वजनिक गरिदिएको थियो।
२६ लाख नक्कली नोट र लामो अदालती प्रक्रिया
भारतीय एटीएसको दाबीअनुसार पक्राउ पर्दा जावेदको साथबाट २६ लाख ३ हजार ५ सय रुपैयाँ बराबरका नक्कली भारतीय नोट बरामद भएको थियो।
परीक्षणका क्रममा ती नोटहरू उच्च गुणस्तरका रहेको र तेस्रो मुलुकबाट तस्करी गरी ल्याइएको दाबी भारतीय पक्षको थियो।
पक्राउ परेपछि लामो समयसम्म मुद्दाको अन्तिम किनारा नलाग्दा जावेद धरौटीको मागसहित उच्च अदालतसम्म पुगेका थिए।
अदालतले करिब एक वर्षअघि भारत छाड्न नपाउने सर्तसहित उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अन्ततः मुद्दा चलेको करिब ११ वर्षपछि अदालतले उनलाई जाली नोट कारोबारमा दोषी ठहर गर्दै जेल सजाय तोकेको हो।
जाली भारूको पारिवारिक सञ्जाल
जावेदको पारिवारिक पृष्ठभूमि पनि जाली भारूको अन्तर्राष्ट्रिय गिरोहसँग जोडिएको छ। उनका बुबा शेख सफी अहमद यसअघि नै नेपालमा जाली भारू प्रकरणमा दोषी ठहर भई जेल भुक्तान गरिसकेका व्यक्ति हुन्।
ललितपुरस्थित सफीको डेरामा छापा मार्दा नेपाल प्रहरीको विशेष ब्युरोले ठूलो परिमाणमा जाली भारू फेला पारेको थियो। सोही मुद्दामा जिल्ला अदालत ललितपुरले २०६७ सालमा उनलाई तीन वर्ष कैद सजाय सुनाएको थियो।
कुख्यात जाली भारू कारोबारी युनुस अन्सारी र इल्ताफ हुसेन अन्सारी समूहसँग जोडिएका बाबु सफीको जेल सजाय सकिनै लाग्दा छोरा जावेद काठमाडौंबाट भारतीय सुरक्षाकर्मीको फन्दामा परेका थिए।
कात्तिक ७, २०८३ शनिबार ०८:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।