'छ माया छपक्कै-२' : दीपेन्द्र र दीपकको सरप्राइज
एक श्रीमती अनि अर्की प्रेमिका। नातीको मुख हेरेर स्वर्गको ढोका खोल्ने आमाको रहर। बच्चा नहुँदा बढेको तनाव। अनि श्रीमती र प्रेमिका दुवै गर्भवती हुँदा रन्थनिएको पात्रले के-के गर्ला?
प्राय दीपकराज गिरी अनि दीपाश्री निरौलाले बनाउने फिल्मको कथा के हो त्यो ट्रेलरमै खुल्छन्। त्यति धेरै सस्पेन्स हुन्न। फिल्म 'छ माया छपक्कै-२' को ट्रेलरमा देखिएको कथा यस्तै त हो। त्यसैमा कमेडी दृश्य र संवादका मसला मिसायो, विभिन्न पात्रका उपकथा थप्यो। यस्तै यस्तै लाग्न सक्छ।
तर फिल्म 'छ माया छपक्कै-२' दीपक-दीपाको यही फिल्मी सूत्रबाट बनेको फिल्म त हो भनेर हलमा जाने दर्शक यो पटक ट्वाँ पर्ने पक्का छ। किनकि यसपालि निर्देशक दीपेन्द्र लामासँग मिलेर दीपक-दीपाले दर्शकलाई मस्तै झुक्क्याइदिएछन् ट्रेलरमा। अर्थात् ट्रेलरमा देखिए जस्तो यो फिल्मको मुख्य थिम श्रीमती र प्रेमिकाबाट चेपिएको पुरुष केन्द्रित हैन। बरु समाज र राजनीतिको चेपुवामा परेको राजनीतिक चेतसहितको एक पुरुष पात्रको कथा हो।
निर्देशक लामाले फिल्म 'छ माया छपक्कै-२' मार्फत घरेलु कथाभित्र देशको राजनीतिक चेत मज्जाले घुसाएका छन्। उनले राजनीति र कमेडीको सही मिश्रणबाट समाजको यथार्थ पस्कने प्रयास गरेका छन्। फिल्ममा कमेडीको मात्रा अनुमान गर्ने हो भने पनि सालाखाला त्यही ३०% जति मात्र होला।
महाभारतलाई राजनीति र कूटनीति बुझ्ने सबैभन्दा गहकिलो ग्रन्थ मानिन्छ, यस फिल्मले राजनीति बुझाउन महाभारत अनि त्यसका पात्र श्रीकृष्णलाई केन्द्रमा राखेको छ। अनि यदि राजनीति बुझ्ने हो भने पहिला समाज र घरपरिवारलाई बुझ्नुपर्छ भन्ने बलियो सन्देश दिने प्रयास गरेको छ।
फिल्मको कथा एकातिर परिवारभित्रको आन्तरिक द्वन्द्व र सन्तान नहुँदाको सामाजिक तथा मानसिक तनाव वरिपरि घुम्छ भने अर्कोतिर देशको वर्तमान सामाजिक-राजनीतिक वितृष्णालाई पनि छाडेको छैन।
कथामा एकातिर जन्मकुण्डलीको विश्वास छ भने अर्कोतिर चिकित्सा रिपोर्ट। एकातिर धार्मिक विश्वासमा अडिग पात्र रमा थपलिया छिन् भने अर्कोतिर पुरै नास्तिक पात्र प्रकाश घिमिरे।
फिल्ममा प्रकाश र रमाबीचको वैचारिक द्वन्द्व निकै सशक्त ढङ्गले निर्माण गरिएको छ। घरको कथाबाट राजनीति बुझाउन भगवान् कृष्णलाई बिम्बको रूपमा प्रयोग गर्ने शैली कथा अनुसार निकै सुहाएको छ। यसमा अर्को सकारात्मक पक्ष प्रकाश घिमिरे गम्भीर हुँदाहुँदै पनि दर्शक हँसाउने कला नै हो। दर्शक हँसाउन उनको हाउभाउ नै काफी छ।
बाबुबाट राजनीति र आमाबाट धार्मिक ज्ञान पाएको र राजनीतिक चेत हुँदाहुँदै पनि अन्त्यमा राइड सेयरिङको चालक बन्न बाध्य पात्र मार्फत निर्देशक लामाले नेपालको सामाजिक र राजनीतिक अवस्थालाई प्रस्ट्याउने प्रयास गरेका छन्। दीपक यही पात्रको भूमिकामा छन्।
राजनीतिक दलका निष्ठावान् कार्यकर्ताहरू कसरी 'झोले' को ट्याग पाएर हतोत्साहित भइरहेका छन् भन्ने यथार्थलाई फिल्मले इमानदारीताका साथ देखाउने प्रयास गरेको छ। साथै, देशमा आफ्नो कुनै भविष्य नदेखेर विदेशिन तयार भएकी युवतीको कथाले आजका आम नेपाली युवाको नियतिलाई प्रतिबिम्बित गरेको छ। केकी अधिकारी यही पात्रको भूमिकामा छिन्।
लोकतन्त्र भनेको बहुमतको निर्णय हो भनिए पनि कहिलेकाहीँ "बहुमतको निर्णय पनि गलत हुन सक्छ" भन्ने राजनीतिक सन्देश फिल्मले दिएको छ। यसका साथै संवादका माध्यमबाट माओवादी सशस्त्र द्वन्द्वको प्रभाव र जातीय विभेदका विषयहरूलाई पनि छुन सफल भएको छ।
दीपेन्द्र लामाले आफ्ना अघिल्ला फिल्महरू झैँ यसमा पनि सामाजिक र राजनीतिक कथा मिसाउने आफ्नो मौलिक निर्देशकीय शैलीलाई निरन्तरता दिएका छन्। तर, अघिल्ला फिल्महरूको तुलनामा यसपटक निर्देशक लामा अझ बढी निखारिएका र परिपक्व महसुस हुन्छन्।
फिल्ममा कमेडीको मात्रा जोखेर रूपमा राखिएको छ। रवीन्द्र झा र मेक्सम गौडेलको संवाद र अभिनयले फिल्ममा 'अचार' को काम गरेको छ। राधिका दासको झल्को दिने दीपाको भूमिका अतिथि कलाकार भने पनि फरक पर्दैन। निर्मल शर्माले दीपक-दीपाका फिल्ममा प्रायः छुस्स देखिने परम्परागत शैलीमै अडिएका छन्।
फिल्मको सबैभन्दा बलियो पक्ष संवाद हुन्। बिम्बात्मक संवाद लेखनमा निकै मिहिनेत गरिएको देखिन्छ। पार्श्व सङ्गीतको रूपमा 'हरिकृष्ण' को धुन प्रयोग गरिनु कथाको मर्म अनुकूल सुनिएको छ। भिजुअल कम्पोजिसन र फ्रेमिङमा पनि टोलीले बलियो काम गरेको छ।
फिल्ममा पर्याप्त सरप्राइज र ट्विस्टहरू छन्। पहिलो हाफमा उब्जाइएका ट्विस्टहरू दोस्रो हाफमा क्रमशः खुल्दै जान्छन्। फिल्मको क्लाइमेक्स बलियो छ। राजनीतिप्रतिको वितृष्णा र सन्तान नहुँदाको पारिवारिक तनाव-यी दुवै संवेदनशील विषयलाई सँगसँगै अगाडि बढाउन निर्देशके सक्दो प्रयास गरेका छन्।
दर्शकमाझ दीपक-दीपाको फिल्मको एक खालको ट्रेन्ड सेट भइसकेको छ। यदि त्यही ट्रेन्ड सम्झिएर दर्शक हलमा मस्त हाँस्न भनेर गए भने हल्का निराश हुनसक्ने जोखिम भने छ। हास्नै नपाइने हैन तर डोज अलि कम छ। दीपक-दीपाले यस अगाडिका फिल्ममा राजनीति नघुसाउने हैनन्, तर त्यसको मात्रा कम हुन्थ्यो। यो पटक कमेडीको मात्रा कम गरिएको छ।
सिक्वेल भएकाले फिल्ममा पहिलो फिल्मका पात्रहरू सरप्राइजका रूपमा नआउने हैनन्। तर त्यसको खासै अर्थ भने देखिँदैन। फिल्मको गति ठाउँ-ठाउँमा सुस्त छ। अन्य फिल्ममा जस्तै निर्देशक लामाले फिल्मको गति र सम्पादन कसेका छैनन्, खुकुलो नै छाडेका छन्।
फिल्मको पहिलो हाफको तुलनामा दोस्रो हाफ अझ सुस्त र प्रेडिक्टेबल बनेको अनुभव हुन्छ। पात्रहरूको भिड अनि कमेडी, पारिवारिक कथासँगै राजनीतिक दर्शन पनि मिसाउँदा कतैकतै कथा बहकिएर 'हैन के भइराछ यहाँ' को अनुभव नहुने पनि हैन।
अन्त्यमा, 'छ माया छपक्कै-२' केवल हसाउनका लागि मात्र बनाइएको कमेडी फिल्म होइन। यसले हाँसोको आवरणभित्र देशको राजनीति, समाज, धर्म र युवा पुस्ताको पीडालाई गम्भीर रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। फिल्मको गति केही सुस्त छ तर बलियो क्लाइमेक्स, चोटीला संवाद र सामाजिक-राजनीतिक चेतका कारण फिल्म दीपक-दीपाको सिरिजमध्ये बलियो बनेको छ।
कात्तिक १, २०८३ आइतबार १४:१५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।