तरबार जुधाउँदै, खुकुरी नचाउँदै : बुटवलको जीतगढीमा सरायँ नाचको रौनक

तरबार जुधाउँदै, खुकुरी नचाउँदै : बुटवलको जीतगढीमा सरायँ नाचको रौनक

बुटवल : ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बुटवलको जीतगढीस्थित दुर्गा मन्दिरमा परम्परागत सरायँ नाचसहितको मेला सम्पन्न भएको छ।

दशैंको अवसरमा आयोजना गरिने यो मौलिक नाच हेर्न र सहभागी हुन स्थानीयवासीको ठूलो घुइँचो लागेको थियो। परम्परागत बाजागाजाको तालमा हातमा खुकुरी, तरबार र लट्ठी नचाउँदै स्थानीय युवा तथा ज्येष्ठ नागरिकहरू सरायँ नाचमा झुमेका थिए। पौराणिक कालदेखि चलिआएको यो नाचले जीतगढी दुर्गा मन्दिर परिसरलाई उत्सवमय बनाएको थियो।

गुल्मी, अर्घाखाँची, प्युठान र पाल्पाका ऐतिहासिक कोटघर तथा शक्तिपीठमा विशेष महत्त्वका साथ नाचिने यो नाच पछिल्लो समय बसाइँसराइसँगै तराईका विभिन्न क्षेत्रमा पनि विस्तार भएको छ। स्थानीय मौलिक संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि आयोजना गरिएको यस मेलामा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रा अर्याल सहभागी थिए। 

असत्यमाथि सत्यको विजय हासिल भएको खुसीयालीमा मनाइने सरायँ नाच दशैंको टीकादेखि कोजाग्रत पूर्णिमासम्म धुमधामका साथ नाचिने गरिन्छ। पञ्चेबाजाको तालमा 'वाख्खै, वाख्खै हो' भन्दै खुँडा, तरबार, भाला, ढाल र लाठीजस्ता परम्परागत हतियार जुधाएर प्रस्तुत गरिने यो नाचले युद्धको झल्को दिन्छ।


दुर्गा मन्दिरका अध्यक्ष दीपक पन्थीका अनुसार सरायँ नाच नेपाली मौलिक संस्कृति, धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीक हो। यस्ता परम्परागत मेला र नाचले नयाँ पुस्तालाई आफ्नो मौलिक जगसँग जोड्नुका साथै समुदायबिच आपसी एकता र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। 

कात्तिक ८, २०८३ आइतबार १६:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।