महाविनाशको ४२ दिन : बगर बनेका बस्ती, लेदोमा चिनो खोज्दै स्थानीय (तस्वीरहरू)

महाविनाशको ४२ दिन : बगर बनेका बस्ती, लेदोमा चिनो खोज्दै स्थानीय (तस्वीरहरू)

काठमाडौं : गत भदौ १० गते लाङटाङ लिरुङ हिमालबाट खसेको भीषण हिमपहिरो तिब्बततर्फको ल्हेन्दे खोलामा थुनिएर अचानक फुट्दा भोटेकोशी र त्रिशूली नदीमा अकल्पनीय प्रलय आयो।

नेपाल-चीन सीमाको रसुवागढी अध्यागमनदेखि चितवनको देवघाटसम्मका नदीतटीय बस्तीहरू हेर्दाहेर्दै बगरमा परिणत भए।

विनाशकारी बाढीले हजारौं मानिसका सपना, वर्षौंको पसिना र सिङ्गो पुस्ताको इतिहास निमेषभरमै लेदोमुनि पुरिदियो। सरकारी तथ्यांकअनुसार विपद्‌मा परी हालसम्म १४ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पाँच हजारभन्दा बढी अझै बेपत्ता छन्।

बाढी आएको ४२ दिन बितिसक्दा पनि घाउहरू उस्तै ताजा छन्। विशेषगरी नुवाकोटको ऐतिहासिक त्रिशूली बजार, ढुंगे र धार्मिक स्थल देवीघाट क्षेत्रका खण्डहरहरूमा पुग्दा अहिले पनि मुटु चसक्क हुन्छ।

आफ्ना प्रियजन गुमाएका स्थानीयहरू अहिले पनि पुरिएका घरको लेदो खोतल्दै छन्- कतै आफ्ना विगतको कुनै चिनो वा महत्त्वपूर्ण सामान भेटिन्छ कि भन्ने आशामा!

कुनै बेला व्यापारिक चहलपहलले गुञ्जिने नुवाकोटको त्रिशूली र ढुंगे बजार अहिले बालुवा र गेग्रानको विशाल मरुभूमिजस्तो देखिन्छ। घरका छतहरू मात्र लेदोमाथि तैरिएझैँ देखिन्छन्। विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

बाढीले घरबास बगाए पनि सम्झनाहरू बगाउन सकेको छैन। ४० दिन बितिसक्दा पनि स्थानीय बासिन्दाहरू कोदालो र हातैले पुरिएको घर खोतल्दै भेटिन्छन्। कसैले आधा पुरिएको तस्बिरको फ्रेम भेट्टाउँछन्, त कसैले जीवनभरको कमाइको भग्नावशेष।

बाढीले रसुवादेखि चितवनसम्मको ६९ किलोमिटर सडक खण्ड क्षतविक्षत बनाएको छ। नदीमाथिका ३३ वटा पक्की र ५३ वटा झोलुङ्गे पुल बगेपछि कतिपय गाउँ अझै पनि सम्पर्कविहीन अवस्थामा छन्।

भोटेकोशी र त्रिशूली करिडोरमा रहेका निर्माणाधीन र सञ्चालनमा रहेका गरी ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् गृह र २४ मेगावाटका ५ वटा सोलार प्लान्टमा बाढीले नराम्रोसँग क्षति पुर्याएको छ। बाढीले बगाएर ल्याएका ठूला ढुङ्गा र लेदोले विद्युत्‌गृहहरू पुरिएका छन्।

महाविपद्‌को पीडाबीच सुरक्षाकर्मी र स्थानीय सरकारको सक्रियतामा जनजीवनलाई सामान्य बनाउने प्रयास भइरहेको छ। गल्छी-देवीघाट-ढुंगे हुँदै बेत्रावतीसम्मको सडक ट्रयाक अस्थायी रूपमा खुलाइएको छ। पालमुनि कष्टकर रात बिताइरहेका पीडितहरू राहत र सुरक्षित पुनर्स्थापनाको प्रतीक्षामा छन्।

असोज २१, २०८३ बुधबार १०:४७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।