प्रलयको ५३औं दिनसम्म त्रिशूलीमा झुन्डिरहेको त्यो आकासे सर्ट !
नुवाकोट : भदौ १० गते रसुवाको भोटेकोशी हुँदै उर्लिएर आएको त्रिशूली नदीले के मात्रै बगाएन? बस्ती बगायो, सपना बगायो अनि हजारौं आफन्तको भरोसा पनि।
बाढीले १५ सयभन्दा बढी मानिसको ज्यान लियो। पाँच हजारभन्दा बढी बेपत्ता भए। रसुवा र नुवाकोटका तटीय क्षेत्रलाई क्षतविक्षत पारेको त्यो प्रलयले मानवीय जीवन र भौतिक संरचनालाई बगरमा परिणत गरिदियो।
त्यो महाविपत्तिको आज ठ्याक्कै ५३औं दिन।
समय आफ्नै गतिमा अघि बढिरहेको छ, चाडपर्वको मौसम छ। तर, ५३ दिनपछि नुवाकोटको त्रिशूली बजारदेखि किस्पाङसम्मको करिब २० किलोमिटर तटीय क्षेत्रमा पाइला टेक्दा लाग्यो- यहाँ समय अझै भदौ १० कै त्यो कालो दिनमा रोकिएको छ।
बगर बनेको बजार र भित्तामा अड्किएको ‘आकासे सर्ट’
विदुर नगरपालिका-१ स्थित ऐतिहासिक त्रिशूली बजार (साँघु) अहिले बजारजस्तो छैन।

छ दशकअघि बनेको २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको पावरहाउस छेउबाटै त्रिशूली नदी सुसाइरहेको छ। त्यही पावर हाउसमाथि नै बनेको सडक हुँदै उकेराकर्मीको यात्रा अघि बढ्यो।
कुनै समय व्यापार र चहलपहलले गुल्जार त्रिशूली बजार आज ढुङ्गा, बालुवा र माटो थुप्रिएको भयानक बगर बनेको छ।

घरहरू आधा पुरिएका छन्, कतिपय भग्नावशेषमा परिणत भएका छन्। तर, यही विपत्तिमा पनि मानिसहरूले हिम्मत हारेका छैनन्। ठाउँ-ठाउँमा स्थानीयले टाँगेका ब्यानरहरूमा लेखिएको छ- ‘त्रिशूली फेरि उठ्नेछ।’
त्रिशूलीको पुरानो झोलुङ्गे पुल भएको स्थान नजिकै बगरमा स्थानीयले नेपालको राष्ट्रिय झण्डा राखेका छन्।

बगर बनेका घरहरूकै बीचमा आँखा डुलाउँदै गर्दा एउटा दृश्यले पाइला टक्क अड्यायो। बाढीले आधा भत्काएको एउटा घरको तेस्रो तलामा बिजुलीको होल्डरमा झुण्ड्याइएको ह्याङ्गर थियो। त्यसमा टाँगिएको थियो- कुनै सामुदायिक विद्यालयको आकासे रङको सर्ट र टाइ।

५३ दिनअघि भदौ १० गते बाढी पस्नुअघि त्यो युनिफर्म लगाएर विद्यालय जाने सपना कसको थियो होला? सर्टमा अझै हिलो र लेदोका खैरा दागहरू स्पष्टै छन्। तर अचम्म, यत्रो प्रलय आउँदा पनि त्यो सर्ट र टाइ न खसेको छ, न बगेको छ।
त्यो दृश्य देख्दा मनमा प्रश्न उठ्यो- के यो युनिफर्म भदौ १० देखि नै यसरी नै अडिरहेको होला? तर, त्यो बगरमा यो जिज्ञासाको जवाफ दिने कोही भेटिएनन्।
कलेजभित्र थुप्रिएको बालुवा र सुनसान तुइन
त्यहाँबाट केही अघि बढ्दा १६ सय विद्यार्थी अध्ययन गर्ने त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको स्नातक तह पढाउने बहुमुखी क्याम्पसको भवन देखिन्छ।
विद्यार्थीको कोलाहलले भरिने त्यो पक्की भवन अहिले माथि छतसम्मै बाढीको लेदो र ढुङ्गाहरूले पुरिएको रहेछ। कक्षाकोठाका झ्याल-ढोकाबाट ढुङ्गा र माटो बाहिर पोखिएका छन्।

त्यसको केही पर पुग्दा नदी वारपार गर्न राखिएको तुइन क्षेत्र पुगियो। असोज २८ गते साँझसम्म यही तुइन तर्न सर्वसाधारण घण्टौ लामो लाइन बस्नुपरेको थियो। तर, अहिले त्रिशूली बजारमाथिको इन्टेक र ढुङ्गे जोड्ने नयाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि मानिसहरूको आवागमन उतातर्फ मोडिएको छ।

तुइन भएको ठाउँ अहिले पूर्णतः सुनसान छ। तुइनका ती फलामे लठ्ठा र मान्छे ओसार्ने फलामे बाक्सा नदीमाथि झुण्डिरहेका छन्। छेउमै राखिएका दुईवटा जिपलाइनका डोरीहरूको अवस्था पनि उस्तै छ। झोलुङ्गे पुल बनेपछि स्थानीयलाई दैनिक यात्रा गर्न केही सहज त भएको छ, पक्की पुल नबन्दासम्म सवारी तार्ने सास्ती भने उस्तै छ।

एकातिर बगरले घेरेका नयाँ घर, अर्कोतिर झुलेको धान
हामी त्रिशूली जलविद्युत् केन्द्रको नहरलाई पछ्याउँदै सिल्ड ट्याङ्की तर्फ लाग्यौँ।
बाटोमा तीनवटा घरहरूले विशेष ध्यान खिचे। हालसालै बनेका जस्ता देखिने, चिटिक्क रङ लगाइएका ती घरका माथिल्ला दुई तला जोगिएका थिए, तर घरको जग र पहिलो तला बगरको बीचमा थिए।

स्थानीयका अनुसार बाढी आउनुअघि यी घर वरिपरि लहलहाउँदो धानखेत थियो र छेउमै माछा पोखरी। समय सही चलिहरेको हुन्थ्यो भने पोखरीमा माछा खेलिरहेका हुन्थे, खेतमा बाली झुल्थ्यो। तर आज, ती घरहरू बालुवा र गेग्रानले घेरिएका छन्। त्यहाँ गएर बस्ने आँट कसैले गर्न सकेका छैनन्।
सिल्डट्याङ्कीबाट माथितिर उक्लिँदा भने माहोल एकाएक फेरियो। विदुर नगरपालिकाकै आगापुटार फाँटमा पुग्दा धानका बाला झुलेका थिए। तल बगरमा महाविनाशले त्यो वितण्डा मच्चाए पनि माथि टारमा भने लहलह धान झुलिरहेको थियो।

हराएको सडक र घरमाथि बजारिएको पुल
आगापुटारको फाँट पार गरेर विदुर नगरपालिका-७ स्थित अक्करे बजार पुगियो।
अक्करे बजार पुग्नुअघि माथिबाट चण्डेश्वरी माध्यमिक विद्यालय देखिन्छ। त्यसको केही तल त्रिशूली जलविद्युत् केन्द्रको ऐतिहासिक हेडवर्क्स थियो।

तर आज, त्यो हेडवर्क्सको नामोनिसान छैन। त्यहाँबाट फैलिएको बगर र मडारिँदै बगेको त्रिशूली नदी मात्र छ। अक्करे बजारका तटीय क्षेत्रका मात्र होइन, माथिसम्मकै पक्की घरहरू पनि बस्न लायक नहुने गरी बाढी पसेको छ।
नदीको पारिपट्टि गल्छी-बेत्रावती-मैलुङ-रसुवागढी सडक खण्डको ट्र्याक पनि बाढीले नामेट पारेको थियो, जसलाई भर्खरै अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ।

अक्करेबाट सोलेतर्फ अघि बढ्दै गर्दा भने सडक नै एकाएक हरायो। पुरानो सडकको ट्र्याकलाई त्रिशूलीले जरैदेखि बगाइदिएको रहेछ। अहिले तुप्चेमाथिको डाँडाबाट घुमाएर नयाँ कच्ची ट्र्याक खोलिएको छ र फेरि तल सोले बजारमा जोडिएको छ।

सोले बजार पुग्दा विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाको सीमा क्षेत्र देखिन्छ। यहाँ सलाखु खोला मिसिन्छ।
तर सलाखु खोलामाथि रहेको पक्की मोटर चल्ने पुल अहिले खोलामा छैन- बाढीको तीव्र वेगले त्यो पुललाई उधिनेर किनाराको एउटा दुईतले घरमाथि लगेर पछारिदिएको छ। अहिले किस्पाङतर्फ जानका लागि खोलामा ह्यूमपाइप राखेर अस्थायी बाटो बनाइएको छ।

यही बाटो भएर राष्ट्रिय गौरवका आयोजनाहरू त्रिशूली थ्री ‘ए’ र थ्री ‘बी’ जलविद्युत् गृहसम्म पुगिन्थ्यो। तर अहिले बाटो आधा मात्रै बाँकी छ। बाढीले जलविद्युत् आयोजन त बगायो नै, त्यहाँसम्म पुग्ने बाटोसमेत बाँकी राखेन।

बगरैभरि बौद्ध झण्डा
जब हामी त्रिशूली थ्री ‘ए’ र थ्री ‘बी’ जलविद्युत् गृहसम्म जाने सडक पूर्ण रूपमा टुङ्गिएको स्थानमा पुग्यौँ, त्यहाँको दृश्य मुटु चिसो बनाउने थियो। त्यहाँबाट देखिने विशाल त्रिशूलीको बगरभरि कयौंको संख्यामा बौद्ध धर्मावलम्बीहरूले प्रयोग गर्ने ‘लुङता’ र ‘दर्चोक’ गाडिएका थिए।

स्थानीयसँग बुझ्दा त्रिशूलीको भेलले बगाएर ज्यान गुमाएका आफन्तहरूले आफ्ना प्रियजनको चीरशान्तिको कामना गर्दै सम्झनामा ती झण्डाहरू गाडेको थाहा लाग्यो।
कात्तिक २, २०८३ सोमबार २२:१४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।