सत्तारुढ दलकै सांसद अमरेश सिंहले किन गर्दैछन् 'मेची-महाकाली पदयात्रा'?

सत्तारुढ दलकै सांसद अमरेश सिंहले किन गर्दैछन् 'मेची-महाकाली पदयात्रा'?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले संविधानको रक्षा तथा जनताका मुद्दा बुझ्न छठ पर्वको अवसर पारेर ‘मेची-महाकाली पदयात्रा’ गर्ने घोषणा गरेका छन्।

मेचीदेखि महाकालीसम्म पैदलयात्रा गर्नेबारे जानकारी दिन आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमाथि आन्तरिक र बाह्य शक्तिबाट प्रहार भइरहेको धारणा राखे।

कुनै कारणवश अहिलेको संविधान गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने उनको दाबी छ। केन्द्रमा शासन गर्नेहरूले मधेशलाई कहिले पनि प्राथमिकतामा नराखेको सिंहको भनाइ छ।

जनयुद्ध र मधेश आन्दोलनको जगबाट मधेशले केही उपलब्धि पाएता पनि अहिले त्यसको प्रभावकारिता नदेखिएको उनले बताए। सिंहले देशमा कुनै न कुनै किसिमले जहिले पनि मधेसमै द्वन्द्व, हिंसा, धार्मिक दंगालगायतका घटना हुने गरेकोप्रति सरकारलाई प्रश्न गरे।

उनले मधेश र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउण्ड’ बनाउन खोजिएको बताए। यस्ता क्रियाकलाप हुनबाट बच्न र बचाउन सांसद सिंहले सबै जनालाई आग्रह गरे।

मधेशलाई सरकारसँग जोड्न जनतामाझ गएर उनीहरूको अपेक्षा सुन्ने योजना रहेको उनले सुनाए। प्रत्येक दिन पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा प्रत्यक्ष जनताहरूसँग भेटेर उनीहरूको अपेक्षा सुन्ने सिंहले बताए। 

पैदल यात्रा समाप्त भएपछि जनताबाट सुनेका अपेक्षाहरू सरकारसमक्ष राख्ने र ती अपेक्षाहरू पूरा गर्न सरकारलाई आग्रह गर्नुका साथै दबाब दिने उनको भनाइ थियो। 

रास्वपाकै सांसद भएर सरकारको आलोचना किन गरेको ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सिंहले आफूले सरकारको आलोचना वा विरोध गरेको नभई जनताको आवाज र अपेक्षालाई सरकारसमक्ष राखेको बताए। 

जनताले चाहेको कुरा सरकारलाई सुनाउनु नै आफ्नो कर्तव्य रहेको र त्यसका निम्ति जुनसुकै पार्टीको सरकार भए पनि आफूले आवाज उठाइरहने उनले प्रष्ट पारे। 

असोज ४, २०८३ आइतबार १३:०९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।