संस्थापन पक्ष लचक हुँदा देउवा पक्षको अपिल : ‘कथित विशेष महाधिवेशन पक्षधरले गर्न महाधिवेशनमा भाग नलिनू’
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेता-कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गरेर उनले विशेष महाधिवेशन पक्षधरले अदालतको निर्णय नपर्खी र वार्ता-संवादलाई बेवास्ता गर्दै एकलौटी रूपमा अघि बढ्नु कुनै पनि हालतमा उचित नभएको स्पष्ट पारे।
कोइरालाले भने, "पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडी बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।"
उनले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य-मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको उल्लेख गरे।
उनले भने, "पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो। तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन।"
कोइरालाले निश्चित सर्तहरू स्वीकार गरे मात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए। नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने कोइरालाको भनाई छ।
विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आफूहरूले आग्रह गरेको स्मरण गराउँदै उनले विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई बेवास्ता गरेका बताए।
कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्धत भएको भन्दै कोइरालाले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे।
विद्यमान अवस्थामा भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन अपिल गर्दै उनले आश्विन ३ गतेबाट विधि प्रक्रिया मिचेर सुरु गर्ने भनिएको तथाकथित अधिवेशन/महाधिवेशनमा भाग नलिन आग्रह गरे।
उनले भने, "१४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरूमा हार्दिक अनुरोध गर्दछु।"
कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित भएको भन्दै उनले विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सक्ने बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, जनविश्वास र राजनीतिक विरासत बोकेको कांग्रेस सोमबार असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै उनले भने, "पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो।"
भदौ २९, २०८३ सोमबार १९:०१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।