सानेपामा सुरु भयो कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेदवारको मतगणना केहीबेर अघि सुरु भएको हो।
यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो।
उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। सिसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिको नाम सङ्कलन गरी मतगणना थालिएको हो।
यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापति पदको मतगणना मतदान भएको स्थान राष्ट्रिय सभागृहमै भएको थियो। सभापतिमा गगनकुमार थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरी श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए।
कांग्रेसको १५औँ महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भई सकेका छन्।
असोज २४, २०८३ शनिबार २०:५५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।