दशैं बिदामा अत्यावश्यक स्वास्थ्य सेवा नियमित राख्न मन्त्रालयको निर्देशन
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दशैं बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सङ्घीय सरकारी अस्पतालहरूलाई आवश्यक स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी सेवा प्रवाह सुचालु राख्न आग्रह गरेको हो।
बिदाका बेला अस्पतालहरू पूर्ण रूपमा बन्द नगर्न र सेवा अवरुद्ध हुन नदिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ। मन्त्रालयका अनुसार बिदाको अवधिमा आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा तथा सघन उपचारजस्ता अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन हुनुपर्नेछ। साथै, आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त परिमाणमा मौज्दात राख्न अस्पतालहरूलाई निर्देशन दिइएको छ।
सेवा प्रवाहका क्रममा आउने समस्या वा गुनासो तत्काल समाधान गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। तोकिएका व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयको इमेलमा पठाउन पनि निर्देशन दिइएको छ,
मन्त्रालयले दशैं बिदाभर नागरिकले सहज र निरन्तर रूपमा स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
असोज ३१, २०८३ शनिबार १४:०२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।