सप्रनानि यादवको हत्याका मुख्य आरोपीलाई गोली हानी पक्राउ
काठमाडौं : ड्युटीमा रहेका सशस्त्र प्रहरी नायव निरीक्षक (सप्रनानि) लक्ष्मणप्रसाद यादवलाई गाडीले किचेर हत्या गरी २२ महिनादेखि फरार रहेका मुख्य आरोपीलाई प्रहरीले शनिबार साँझ गोली प्रहार गरी पक्राउ गरेको छ।
सिरहाको बरियारपट्टी गाउँपालिका-१, कचनारीस्थित नेपाल-भारत सीमा नजिकबाट नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली चलाएर भाग्न खोजेपछि जवाफी कारबाहीमा घाइते भएका ३७ वर्षीय मोहम्मद कुरवान मन्सुरी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार सिरहाको नवराजपुर गाउँपालिका- ५ बस्दै आएका भारतको बिहार राज्य मधुवनी जिल्ला ललबनियाँका मन्सुरीलाई प्रहरीले शनिबार साँझ फेला पारेको थियो।
इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले मन्सुरीसहित तीन जनाको समूहलाई नियन्त्रणमा लिन खोजेको थियो। सोही क्रममा उक्त समूहले प्रहरीलाई लक्षित गरी एक राउन्ड गोली प्रहार गरेर भाग्ने प्रयास गरेका प्रहरीको भनाइ छ।
त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। प्रहरीले चलाएको गोली मन्सुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा लागेको थियो।
गोली लागेर घाइते भएका उनलाई नियन्त्रणमा लिई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ। अन्य दुई जनाको अवस्थाबारे भने प्रहरीले केही खुलाएका छैनन्।
के थियो घटना ?
२०८१ मंसिर १६ गते बिहान ३ बजे बरियारपट्टी गाउँपालिका-१ कचनारीस्थित नेपाल-भारत सीमा नजिक नेपालबाट भारततर्फ टाटा सफारी गाडीमा ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा बिओपी बडारीबाट सप्रनानि यादवको टोली खटिएको थियो।
ड्युटीमा रहेका सप्रनानि यादवले डीएल ५ सीजे ७१७१ नम्बरको गाडी रोकेर जाँच गर्न खोज्दा गाडी धनी तथा चालक रहेका मन्सुरीले ज्यान मार्ने उद्देश्यले ठक्कर दिई किचेर उनको हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका उनीविरुद्ध ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग र सवारी ज्यान) तथा संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भई प्रहरीले खोजी गरिरहेको थियो।
असोज ३, २०८३ शनिबार २२:०९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।