कांग्रेसमा दुई पक्षका छुट्टाछुट्टै महाधिवेशनको तयारी, सानेपामा बैठक आह्वान
काठमाडौं : पार्टीको संस्थापन इतर समूहले पनि १५ औँ महाधिवेशनको तयारी तीव्र बनाइरहेको बेलामा नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई उपस्थिति हुन अनुरोध गरिएको छ।
भदौ २४ गतेदेखि सुरु गर्ने भनेको कांग्रेसको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण केही पर धकेलेर असोज ३ गतेदेखि सुरु हुँदैछ।
केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। कांग्रेस सभापति गगन थापाले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तोकिएको मितिबाट तलमाथि नहुने प्रस्ट्याएका छन्। यद्यपि उनले पार्टीको आन्तरिक एकताको लागि लचिलो हुन आफूहरू तयार रहेको भनेका छन्।
यता, पार्टीको असन्तुष्ट पक्षले पनि महाधिवेशनको तयारी तीव्र बनाएको छ। मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तय गरेको इतर पक्षले असोज १५ गते देखि वडा अधिवेशन सुरु गर्दैछ। अधिवेशन सम्पन्न गर्नको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय समेत गरिसकेको छ।
भदौ २७, २०८३ शनिबार १७:२४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।