काठमाडौं महानगरका तत्कालीन इन्जिनियर कोइरीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं : काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामवावु महतो कोइरीसहित चार जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि भ्रष्टाचार मुद्दा दायर गरिसकेका महतोविरुद्ध स्रोत नखुलेको चार करोड ५८ लाख बढीको सम्पत्तिमाथि थप अनुसन्धान गरी शुक्रबार सम्पत्ति शुद्धीकरणको अभियोगमा पनि मुद्दा दायर गर्यो।
भ्रष्टाचारबाट आर्जित रकम कोइरीले श्रीमती, साली र साडुभाइमार्फत रूपान्तरण, स्वरूप परिवर्तन, स्वामित्व परिवर्तनलगायतका कार्य गरी सम्पत्ति शुद्धीकरण गरेको देखिएको अख्तियारले जनायो। आयोगले मुख्य प्रतिवादी कोइरीलाई चार करोड ४८ लाखभन्दा बढी बिगो कायम गरी जरिवाना, कैद र जग्गा जफतको माग दाबी गरेको छ।
कोइरीकी श्रीमती मालाकुमारी महतोले भ्रष्टाचारबाट अवैध सम्पत्ति आर्जन गरेको थाहा पाउँदापाउँदै सोही रकमबाट घरजग्गाको कारोबार र लगानी गरेको देखिएको अख्तियारले जनाएको छ। त्यसरी स्रोत लुकाउने र सम्पत्ति रूपान्तरण गर्ने कार्यमा संलग्न रहेकी उनलाई पनि मुख्य प्रतिवादीसरह बिगो कायम गरी जरिवाना, कैद र जग्गा जफतको माग गरिएको छ।
त्यस्तै, मुख्य प्रतिवादीहरूको अवैध सम्पत्तिबाट जग्गा खरिदमा लगानी गर्ने, सम्पत्ति रूपान्तरण, हस्तान्तरण तथा स्रोत लुकाउने कार्यमा मतियारको भूमिका खेलेको आरोपमा कोइरीकी साली रीना कुशवाहा र साढु भाइ कृष्ण प्रसाद मेहताविरुद्ध पनि सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम सजाय माग गरिएको छ।
भदौ २६, २०८३ शुक्रबार १८:०५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।