नक्कली अध्यापन अनुमतिपत्र पेस गरेर जागिर खाएको आरोपमा करार शिक्षकविरुद्ध मुद्दा

नक्कली अध्यापन अनुमतिपत्र पेस गरेर जागिर खाएको आरोपमा करार शिक्षकविरुद्ध मुद्दा

काठमाडौं : नक्कली स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) पेस गरेर शिक्षण पेसामा प्रवेश गरेको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। 

जुम्लाको तिला गाउँपालिका-९ राँसामालापानीस्थित ज्योति माध्यमिक विद्यालयमा कार्यरत करार शिक्षक महेन्द्र राज शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको हो।

शाहीले नक्कली शिक्षक अध्यापन अनुमतिपत्र पेस गरेर सेवा गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेको थियो। उनले तिला गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ मा प्राप्त शिक्षण सिकाइ अनुदानअन्तर्गत निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षकको दरबन्दीमा नियुक्ति पाउन नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाएको अनुसन्धानले देखाएको अख्तियारले जनायो।

उनले सोही नक्कली प्रमाणपत्र पेस गरी २०७९ जेठ १५ गते श्री ज्योति माध्यमिक विद्यालयमा करार शिक्षकको रूपमा नियुक्ति लिएका थिए। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार शिक्षक शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरिएको छ।

कात्तिक १९, २०८३ बिहीबार १५:२५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।