पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर
काठमाडौं : सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट गैरकानुनी रूपमा हटाएको दाबी गर्दै दानबहादुर कार्की पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका छन्।
कार्कीले बिहीबार वारेस तथा कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्। कार्की निकट अधिवक्ता टीकाबहादुर कुँवरले अदालतमा रिट पठाइसकिएको पुष्टि गरे।
यद्यपि, सर्वोच्च अदालत प्रशासनले उक्त रिट निवेदनको अध्ययन गरिरहेकाले औपचारिक दर्ता भने भइसकेको छैन। प्रशासनिक प्रक्रिया पूरा भएपछि रिट दर्ता हुने वा नहुने विषयमा टुंगो लाग्नेछ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्यकाल बाँकी रहँदै कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
सोही बैठकले कार्कीकै ब्याची डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा नियुक्त गरेको थियो।
नवनियुक्त आईजीपी केसीले बुधबार नै दर्ज्यानी चिह्न प्राप्त गरी पदभार समेत ग्रहण गरिसकेका छन्।
तर, कार्यकाल बाँकी छँदै आफूमाथि अन्यायपूर्ण र गैरकानुनी ढंगले पदबाट हटाइएको भन्दै कार्कीले सरकारको निर्णय बदर गरी आईजीपी पदमै पुनर्बहाली गर्न माग गर्दै न्यायिक बाटो रोजेका हुन्।
कात्तिक १९, २०८३ बिहीबार १३:०५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।