महाधिवेशनको कार्यतालिका स्थगित गरी निर्णायक वार्ता थाल्न कांग्रेसका २४ नेताको आग्रह
काठमाडौं : नेपाली कांग्रेसका २४ नेताले अहंकार, आग्रह र व्यक्तिगत स्वार्थ त्यागेर पार्टीलाई एकताबद्ध बनाउन निर्णायक वार्ताका लागि पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।
शुक्रवार सार्वजनिक गरिएको संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले देश गम्भीर संकट र विपद्को अवस्थाबाट गुज्रिरहेका बेला कांग्रेसको भूमिका अझ महत्त्वपूर्ण हुने भएकोले पार्टीभित्र देखिएको आन्तरिक विवाद र कलहलाई अन्त्य गर्न माग गरे।
पार्टीको संस्थापन पक्ष र संस्थापन इतर पक्षबाट जारी गरिएका पन्ध्रौँ महाधिवेशनका कार्यतालिका स्थगन गरी पार्टी एकताबद्ध बनाउन यथाशीघ्र निर्णायक वार्ता थाल्न आग्रह गरे। त्यसको लागि मुख्य जिम्मेवारी पार्टी सभापतिको हुने भएकोले कांग्रेसको वृहत् एकतालाई भूमिका खेल्न पार्टी सभापति गगन थापालाई आग्रह गरिएको छ।
देश संवेदनशील अवस्थामा रहेको बेलामा पार्टीभित्रै विवाद चर्काउनु वा पार्टीलाई थप विभाजित बनाउने तर्फ उन्मुख हुनु राष्ट्र, जनता र लोकतन्त्रको हितविपरीत हुने उनीहरूको चेतावनी छ। पार्टीभित्र देखिएको कलह कांग्रेसको आन्तरिक विषय मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशातिर धकेलिरहेको उनीहरूको बुझाइ छ।
विशेष महाधिवेशनका तितो-मीठो अनुभवबाट पाठ सिकेर अब पुराना विवाद र मतभेदलाई बोकेर हिँड्नुको साटो पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व पंक्ति एक ठाउँमा बस्नुपर्ने आवश्यकता विज्ञप्तिमा औँल्याइएको छ। १५औँ महाधिवेशनमा पार्टीका सबै सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गरेर स्पष्ट दिशा तय गर्न सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।
भदौ २६, २०८३ शुक्रबार १६:१३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।