गगनको स्पष्टोक्ति : ‘कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन’

गगनको स्पष्टोक्ति : ‘कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तोकिएको मितिबाट तलमाथि नहुने बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा बोल्दै उनले असोज १६ देखि १९ गतेसम्म तोकिएको केन्द्रीय महाधिवेशनको तिथीमिति तलमाथि नहुने प्रष्ट्याए।

पछिल्लो पटक संशोधन गरिएको वडा अधिवेशन पनि अब परिवर्तन नहुने उनको भनाइ छ। आगामी असोज ३ र ४ गतेसम्म वडा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ। थापाले पार्टीको महाधिवेशन र चाडपर्वपछि कांग्रेस ७७ वटै जिल्ला र गाउँगाउँ पुग्ने बताए। 

सबैले पार्टीको महाधिवेशनमा भाग लिने उनको भनाइ थियो। “पार्टी एकताबद्ध बनाउने ठाउँमा नरम हुने हो, पार्टीभित्रको फोहर सफा गर्ने कुरामा निर्मम हुने हो,” उनले भने। 

थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताए। विशेष महाधिवेशनपछि पार्टीलाई अगाडि बढाउने सन्दर्भमा कांग्रेस नेत्री सुजाता कोइरालाले देखाएको उदारता र सहयोगको उनले प्रशंसा गरे। कांग्रेस नेत्री कोइरालाले पार्टी र युवा नेतृत्वप्रति देखाएको विश्वास र अभिभावकत्वका लागि थापाले  धन्यवाद दिए।

भदौ २६, २०८३ शुक्रबार १५:०४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।