त्रिशूली वारिपारि गर्न नदीमा ह्युमपाइप राखिने
विदुर : बाढीले पुल बगाएपछि त्रिशूली नदी वारपार गर्न भइरहेको चरम कठिनाइलाई तत्कालका लागि सहज बनाउन नदीमा ह्युमपाइप राखिने भएको छ।
त्रिशूली बजार क्षेत्रमा आवागमन ठप्प भएपछि तत्कालको निकासका रूपमा ह्युमपाइप राखेर अस्थायी बाटो खुलाउने तयारी थालिएको हो।
प्रारम्भिक प्राविधिक अध्ययनअनुसार ढुङ्गेस्थित कृषि विकास कार्यालय र वडा नं. १ को कार्यालय पछाडिपट्टि नदीका दुवै किनारमा रहेका ठूला ढुङ्गाहरूको बीचमा ह्युमपाइप राखेर मानिसहरूलाई आउजाउ गराउन सकिने देखिएको छ।
उक्त कार्यलाई छिटो अघि बढाउन निर्माणको जिम्मा लिन इच्छुक ‘शालिक कन्स्ट्रक्सन’लाई प्राविधिक अध्ययनसहितको कार्यतालिका पेस गर्न भनिएको छ। निर्माण व्यवसायीलाई आगामी तीन दिनभित्र विस्तृत प्राविधिक प्रतिवेदन र कार्ययोजना बुझाउन समयसीमा तोकिएको छ।
विदुर नगरपालिकामा भएको सरोकारवालाहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा नगर उपप्रमुख प्रभा बोगटी, नेपाली सेनाका प्राविधिक प्रमुख सेनानीहरू निश्चयजङ्ग रायमाझी, विश्व केसी र सबिर शाक्यसहितको प्राविधिक टोली, पूर्वाधार विकास कार्यालयका प्रमुख सुजन थापा, विभिन्न वडाका वडाध्यक्षहरू तथा निर्माण व्यवसायी शालिकराम श्रेष्ठको सहभागिता रहेको थियो।
छलफलमा सहभागीहरूले त्रिशूली नदी वारपार गराउनका लागि अहिलेको परिस्थितिमा ह्युमपाइप राख्नु नै सबैभन्दा छिटो, सरल र कम खर्चिलो माध्यम हुने निष्कर्ष निकालेका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले पक्की पुल बगाएपछि स्थानीय बासिन्दा, विद्यार्थी र व्यापारीहरू तुइनमार्फत जोखिमपूर्ण रूपमा वारपार गर्न बाध्य छन्।
भदौ २६, २०८३ शुक्रबार ०८:५३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।