काठमाडौं महानगरले सञ्चालनमा ल्यायो बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो बाइक एम्बुलेन्स सेवा

काठमाडौं : काठमाडौंको अत्यधिक सवारी चाप र साँघुरा गल्लीका कारण आपत्कालीन स्वास्थ्य सेवामा हुने ढिलाइ न्यूनीकरण गर्न काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ।

महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रगति समीक्षा एवं प्रस्तुतीकरण कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई छिटो तथा प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको जानकारी दिइन्।

महानगरपालिकाले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै महानगरवासीसहित काठमाडौंमा रहेका देशभरका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने प्रयास गरिरहेको उनले बताइन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले महानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको उनले बताइन्।

डंगोलले भनिन्, "स्वास्थ्यमा पहुँच बढाउने अनि आवश्यकता परेको खण्डमा उहाँहरूको आर्थिक अवस्थाका कारणले गर्दाखेरि स्वास्थ्य सेवामा हामीले सेवा पाउन सकेनौं भन्ने धेरै गुनासाहरू हुन्छन्, ती गुनासाहरूलाई केही हदसम्म हामीले सम्बोधन गर्न प्रयास गरेका छौं।"

उनले महानगरपालिकासँग सहकार्य गरेका १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिसँग छलफल भएको जानकारी दिइन्। डंगोलका अनुसार काठमाडौंमा एम्बुलेन्सको संख्या कम भएर समस्या भएको होइन, समयमै बिरामीसम्म एम्बुलेन्स पुग्न नसक्नु मुख्य चुनौती हो। 

विशेषगरी काठमाडौंको अत्यधिक सवारी चाप र साँघुरा सडक तथा गल्लीका कारण कतिपय स्थानमा चार पाङ्ग्रे एम्बुलेन्स समयमा पुग्न कठिन हुने गरेको उनले बताइन्। डंगोलले भनिन्, "काठमाडौंमा पर्याप्त एम्बुलेन्स छन्, तर समयमा सेवा दिन सकिएको छैन। ट्राफिक जामका कारण धेरै पटक एम्बुलेन्स समयमै पुग्न सक्दैन।"

काठमाडौंको घना बस्ती, साँघुरा गल्ली तथा चार पाङ्ग्रे सवारीसाधन पुग्न नसक्ने स्थानलाई लक्षित गर्दै बाइक एम्बुलेन्स सेवा सुरु गरिएको उनले बताइन्।

असोज ३०, २०८३ शुक्रबार १६:५९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।