बुटवलका विपद् प्रभावित परिवारलाई मासिक १५ हजार राहत, तटबन्ध निर्माणलाई तीव्रता दिइने
बुटवल : बुटवल उपमहानगरपालिकाले वडा नं. ११ टप मजुवाका विपद् प्रभावित परिवारलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनासम्म राहत उपलब्ध गराउने भएको छ।
नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले विपद्का कारण पूर्ण तथा आंशिक क्षति बेहोरेका ५ घरपरिवारलाई तत्काल राहत दिने निर्णय गरेको हो।
निर्णयअनुसार पूर्ण क्षति भएका तीन घर र आंशिक क्षति भएका दुई घरपरिवारले तीन महिनासम्म यो राहत रकम पाउनेछन्।
नगर प्रमुख पाण्डेले विपद् प्रभावित नागरिकलाई तत्काल राहत र पुनर्स्थापनामा सघाउनु स्थानीय सरकारको प्राथमिकता भएको बताउँदै जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजनासहित काम अघि बढाइने जानकारी दिए।
यस्तै, बैठकले टप मजुवा क्षेत्रमा थप क्षति हुन नदिन पक्की ढलानसहितको तटबन्ध निर्माण कार्य तत्काल अघि बढाउन ‘जनताको तटबन्ध कार्यालय’लाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
बैठकले विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा सक्रिय रूपमा खटिने सुरक्षा निकाय, जनप्रतिनिधि, टोल समिति, नागरिक समाज, सञ्चारकर्मी र उपमहानगरपालिकाको विपद् शाखाप्रति धन्यवाद व्यक्त गरेको छ।
असोज १३, २०८३ मंगलबार १०:२१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।