बञ्चरेडाँडा जाने सडकमा पहिरो, घरबाहिर फोहोर ननिकाल्न महानगरको आग्रह
काठमाडौं : अविरल वर्षाका कारण बञ्चरेडाँडास्थित ल्यान्डफिल साइट जाने सडकमा पहिरो खसेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित भएको छ।
फोहोर ढुवानी गर्ने सडकखण्ड र ल्यान्डफिल साइट परिसरमै माथिबाट लेदोसहितको पहिरो झरिरहेकाले फोहोर विसर्जन कार्यमा अवरोध पुगेको हो। सडक अवरुद्ध भएपछि काठमाडौंबाट फोहोर लिएर गएका दर्जनौँ ट्रकहरू बाटोमै रोकिएका छन्।
फोहोर ढुवानी तथा विसर्जन ठप्प भएपछि काठमाडौं महानगरपालिकाले तत्कालका लागि घरबाट फोहोर बाहिर ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ।
महानगरको वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै केही समय फोहोर सङ्कलन प्रभावित हुने भएकाले आ-आफ्नो घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर सुरक्षित रूपमा घरभित्रै राख्न आग्रह गरेको हो।
वर्षाको समयमा सडक तथा सार्वजनिक स्थलमा फोहोर फाल्दा पानीको निकास थुनिएर थप समस्या निम्तिन सक्ने भन्दै महानगरले सडक, चोक, खोला-नाला वा खुला ठाउँमा फोहोर नफाल्न सचेत गराएको छ।
साथै, फोहोरलाई सड्ने र नसड्ने गरी छुट्ट्याएर आफैँ व्यवस्थापन गर्नसमेत अनुरोध गरिएको छ।
मौसम र ल्यान्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहोर सङ्कलन तथा ढुवानी कार्य नियमित रूपमा पुनः सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।
असोज ९, २०८३ शुक्रबार १२:४९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।