बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा

बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढी पहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा बोल्दै उनले विपद्बाट प्रभावित विद्यार्थीलाई उनीहरूको अवस्था हेरेर विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताए।

उनका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल सहयोग गर्ने मात्र नभई भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुने बालबालिकाका लागि समेत दीर्घकालीन व्यवस्था गर्न खोजिएको हो।

विपद्को समयमा राज्य एक्लै नरहेको भन्दै पोखरेलले निजी क्षेत्र, विभिन्न सङ्घसंस्था र नागरिकबाट प्राप्त सहयोगले सरकारलाई थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताए।

उनले भने, "पछिल्लो केही दिन हामी सबै जना, सिङ्गो देश नै एउटा शोकको अवस्थामा छ। यस्तो बेलामा विभिन्न संस्था र व्यक्तिहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ। त्यो आर्थिक सहयोग मात्र होइन, सरकारप्रति नागरिकहरूले देखाउनुभएको भरोसा र ट्रस्ट पनि हो। यसले हामीलाई अझ धेरै मेहनत गरेर काम गर्न मोटिभेट पनि गर्छ र झकझकाउँछ पनि।"

विपद्को समयमा राज्य एक्लो नभएको उल्लेख गर्दै पोखरेलले उद्धार, राहत तथा पुनःस्थापनामा विभिन्न क्षेत्रबाट भएको सहभागिताले राष्ट्रिय एकताको सन्देश दिएको बताए। उनका अनुसार सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीदेखि विभिन्न सङ्घसंस्था र सर्वसाधारणसम्म विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्।

पोखरेलले विपद् आएपछि मात्र तयारी गर्ने पुरानो प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए। नेपालमा हरेक वर्ष जसो कुनै न कुनै प्राकृतिक विपद् आइरहने भएकाले शिक्षा क्षेत्रमा पनि विपद् व्यवस्थापनको पूर्व तयारी आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, "विगतका दिनमा विपद् आउँछ अनि बल्ल तयारी गर्ने एउटा परिपाटी रहेको थियो। हामी त्यसलाई पनि चिरेर अलिकति अगाडि जान चाहन्छौँ। आजको कार्यक्रम रसुवा, नुवाकोट र धादिङको बाढीका लागि मात्र नभएर भविष्यमा आउन सक्ने अरू विपद्का लागि पनि सोचेर विभिन्न संघसंस्थासँग मिलेर गरेका हौँ।"

उनका अनुसार यस पटक बाढी पहिरोबाट प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिने मात्रै नभई विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकताका आधारमा अध्ययनको व्यवस्था गरिनेछ। दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एक जना अभिभावक गुमाएका विद्यार्थीलाई त्यसपछिको प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य प्रभावित विद्यार्थीलाई सहयोग गर्ने योजना मन्त्रालयको छ।

मन्त्रालयका अनुसार विद्यार्थीको आवश्यकता र अवस्थाअनुसार फरक-फरक किसिमको सहयोग उपलब्ध गराइनेछ। केही विद्यार्थीलाई आवासीय विद्यालयमा राखेर अध्ययन गराउने, केहीलाई पूर्ण छात्रवृत्ति दिने तथा आवश्यकताअनुसार होस्टेलको व्यवस्था मिलाउने योजना छ।

स्थानीय क्षेत्रमै बसेर अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि त्यहीअनुसार सहयोग उपलब्ध गराउने पोखरेलले बताए। ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा निजी शिक्षण क्षेत्रका विभिन्न सङ्घसंस्था सहभागी भएका छन्। कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, ओपिन र नेपाल मोन्टेसरी एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पोखरेलले यी संस्थाहरूले यस पटकको विपद् प्रभावित विद्यार्थीका लागि मात्रै नभई भविष्यमा आइपर्न सक्ने विपद्, दुर्घटना वा अभिभावक गुमाउने अन्य बालबालिकालाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। उनले छात्रवृत्ति योजनामा अन्य निजी क्षेत्र तथा सङ्घसंस्थालाई समेत जोडिन आह्वान गरेका छन्। विपद् प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

विपद्का कारण बालबालिका शिक्षाबाट बाहिरिने अवस्था आउन नदिन सरकारी संयन्त्रसँगै निजी विद्यालय तथा विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यलाई निरन्तरता दिने मन्त्रालयको तयारी छ। पोखरेलले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा सहभागी संस्थाहरूलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रमा राज्य र समाजबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्ने बताए।

भदौ २२, २०८३ सोमबार २१:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।