बिहीबारदेखि हुने भारी वर्षाले यी २७ जिल्ला उच्च जोखिममा
काठमाडौं : मनसुन बाहिरिएलगत्तै मौसम सफा भइरहेका बेला आगामी बिहीबारदेखि मुलुकभर फेरि मौसम प्रतिकूल भई भारी वर्षा हुने देखिएको छ।
जल तथा मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई नेपालतर्फ अग्रसर हुँदा बिहीबारदेखि गण्डकी, बागमती, मधेश र कोशी प्रदेशलगायतका क्षेत्रमा ठूलो वर्षा र उच्च जोखिमको सम्भावना छ।
अन्तर्राष्ट्रिय मौसम मोडेलहरूले मिल्दोजुल्दो संकेत गरेपछि मौसमविद्हरूले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी थाल्न सरोकारवाला निकाय, किसान र हिमाली क्षेत्रका यात्रुहरूलाई सचेत गराएका छन्।
२७ जिल्लामा उच्च जोखिम, तनहुँ र मनाङमा अत्यधिक वर्षाको प्रक्षेपण
मौसमविद् विनोद पोखरेलका अनुसार १०/१२ दिन अघिदेखि नै संकेत गरिएको वर्षा प्रणाली अब थप बलियो बन्दै गएको छ। प्रारम्भिक प्रक्षेपण अनुसार बंगालको खाडीमा बनेको यो प्रणाली चक्रवातमा विकसित भई भारतको आन्ध्र प्रदेशको तटबाट जमिनमा प्रवेश गर्ने र उत्तरतर्फ अघि बढ्नेछ।
नेपाल आइपुग्दा यो कमजोर न्यूनचापीय प्रणालीमा रूपान्तरण भए पनि यसबाट आउने ओसिलो हावा र माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले भारी वर्षा निम्त्याउनेछ।
पोखरेलले सार्वजनिक गरेको जिल्लागत जोखिम नक्साअनुसार लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका २७ जिल्ला ‘अत्यधिक जोखिम’ र २२ जिल्ला ‘उच्च जोखिम’को सूचीमा छन्। बिहीबारदेखि आइतबारसम्मको मौसमी चक्रमा मुख्य गरी शुक्रबार (३० अक्टोबर) देशैभर अत्यधिक वर्षा हुने देखिएको छ।
मोडेलहरूको अधिकतम वर्षा प्रक्षेपण अनुसार तनहुँमा १९७ मिलिमिटर, मनाङ र नवलपरासी (पूर्व) मा १९३ मिलिमिटर, पाल्पामा १८४ मिलिमिटर, स्याङ्जामा १८१ मिलिमिटर तथा म्याग्दीमा १८० मिलिमिटरसम्म वर्षा हुन सक्नेछ। काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी पहाडी तथा तराईका क्षेत्रमा समेत वर्षाको बाक्लो प्रभाव रहनेछ।
गलेको जमिन र भरिएका नदी : सामान्य वर्षाले पनि ठूलो विपद् निम्तिने खतरा
अर्का मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार नेपालमा औसत वर्षा १०० मिलिमिटरभन्दा माथि र कतिपय खोंच तथा उपत्यकामा २०० मिलिमिटरभन्दा बढी पुग्न सक्छ। सामान्यतया यस्ता प्रणाली ७२ घण्टामा कमजोर हुने भए पनि जमिनमा आइपुगेपछि गति सुस्त भएर यो झरी ५ देखि ६ दिनसम्म लम्बिन सक्ने सम्भावनासमेत रहन्छ।
उपाध्यायले यसपटकको मौसमी प्रणालीबाट बाढी र पहिरोको जोखिम झनै उच्च हुने बताएका छन्। असोजको अन्तिम सातामा भएको विनाशकारी वर्षाका कारण डाँडापाखा र भीरहरू अझै सुक्न नपाएका, मुख्य तथा सहायक नदीहरूमा जलस्तर अझै उच्च रहेको र थपिने पानीले तत्कालै तीव्र बहाव र डुबान निम्त्याउने उनको विश्लेषण छ।
यसका अलावा मनाङ, मुस्ताङ तथा हिमनदी प्रभावित क्षेत्रहरूमा तापक्रम वृद्धिका कारण हिउँ पग्लिएर चट्टानहरू खुकुला भएका छन्, जसले गर्दा थोरै वर्षाले पनि भोटेकोशी र बूढीगण्डकीमा जस्तै अचानक विनाशकारी लेदोसहितको बाढी आउन सक्ने सम्भावना रहेको उनले बताए।
मनसुनको बदलिँदो चक्र र २.८ डिग्रीको चेतावनी
विगतका वर्षहरूमा असोज पहिलो सातातिरै मनसुन सकिएर आकाश खुला हुने गर्थ्यो। तर पछिल्ला तीन दशकको तथ्यांक हेर्दा मनसुन भित्रिने र बाहिरिने दुवै मिति कम्तीमा दुई साता पर धकेलिएको उपाध्याय बताउँछन्। यस वर्ष पनि अक्टोबर १४ मा मात्र मनसुन औपचारिक रूपमा बाहिरिएको थियो।
बंगालको खाडीमा सामान्यतया समुद्रको सतहको तापक्रम २६ डिग्री सेल्सियस हुनुपर्नेमा हाल २९ डिग्री पुगेको छ। अत्यधिक समुद्री तापक्रम र ‘एल निनो’को प्रभावले एक महिनाभित्रै तीनवटा शक्तिशाली न्यूनचापीय प्रणाली बन्नुलाई विज्ञहरूले जलवायु परिवर्तनको प्रत्यक्ष संकेत मानेका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनले पनि विश्वव्यापी तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस सम्झौताको लक्ष्य असफलतातर्फ गइरहेको र शताब्दीको अन्त्यसम्म तापक्रम २.८ डिग्रीले बढ्ने प्रक्षेपण गरेको छ। हिमाली क्षेत्रमा यो तापक्रम वृद्धि झनै तीव्र (४ डिग्रीसम्म) देखिएकाले हिमनदी विस्फोट र चरम मौसमी घटनाहरूको चक्र झन् अनपेक्षित बन्दै गएको छ।
कृषि र जनजीवनमा प्रत्यक्ष असर : किसानलाई उच्च सतर्कताको खाँचो
असोज-कात्तिकको यो समय किसानहरूका लागि धानबाली भित्र्याउने मुख्य मौसम हो। नेपालको कुल जनसंख्याको ६२ प्रतिशत हिस्सा कृषिमा आश्रित रहेको र कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा बेमौसमी वर्षाले फेरि ठूलो आघात पुर्याउने चिन्ता बढेको छ।
रातिको समयमा मुसलधारे पानी पर्ने नयाँ मौसमी प्रवृत्तिले मानवीय क्षति र उद्धारमा कठिनाइ थप्ने गरेको इतिहास छ। मौसमविद्हरूले पाकेको बाली सुरक्षित ठाउँमा राख्न, नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन तथा हिमाली पदयात्रामा रहेका पर्यटकहरूलाई मौसम पूर्वानुमान नियालेर मात्र यात्रा तय गर्न अनुरोध गरेका छन्।
विपद् कोषको रणनीतिक सदुपयोग आवश्यक
जलवायुजन्य विपद्का कारण नेपालले व्यहोर्नुपरेको ‘हानि तथा नोक्सानी’बापत हालै ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’बाट नेपालका लागि २ करोड अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) विनियोजन भएको छ।
विज्ञहरूका अनुसार यो रकम क्षतिको तुलनामा निकै न्यून (कुल क्षतिको ०.४७ प्रतिशत हाराहारी) भए पनि यसलाई पारदर्शी र अधिकतम प्रतिफल दिने क्षेत्रमा खर्चिनुपर्छ।
बाढीपहिरोले विस्थापित समुदायको पुनर्वास, तत्काल सम्पर्क जोड्ने झोलुङ्गे पुल तथा सडक पूर्वाधार र कृषकको जीविकोपार्जन पुनर्स्थापनामा यो रकमलाई ‘चेन इफेक्ट’ दिने गरी प्रभावकारी परिचालन गर्नुपर्ने आवाज विज्ञहरूले उठाएका छन्।
मौसम प्रणाली निरन्तर परिवर्तनशील हुने भएकाले जल तथा मौसम विज्ञान विभागको नियमित बुलेटिन र आधिकारिक सूचनाहरू पछ्याउन मौसमविद्हरूको आग्रह छ।
कात्तिक ९, २०८३ सोमबार ०७:१२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।