एनपीएलको तेस्रो संस्करण आजदेखि : मैदानमा स्टार खेलाडीको चमक, पारदर्शितामाथि प्रश्नै-प्रश्न

एनपीएलको तेस्रो संस्करण आजदेखि : मैदानमा स्टार खेलाडीको चमक, पारदर्शितामाथि प्रश्नै-प्रश्न

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल अपराह्न ४:३० बजे सुरु हुने तालिका छ।

यस संस्करणमा साविकका आठ फ्रेन्चाइज टोलीहरू- लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतिस्पर्धामा छन्।

प्रतियोगिता सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै आगामी मंसिर ५ गते फाइनल खेलसँगै सम्पन्न हुनेछ।

पुरस्कार राशिमा वृद्धि : च्याम्पियनलाई डेढ करोड
यसपटक प्रतियोगिताको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार यस संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ। गत वर्ष उपाधि विजेता लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पाएको थियो।

त्यसैगरी, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

आईसीसीको मान्यता र विदेशी स्टारहरूको जमघट
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त यस संस्करणमा विश्व क्रिकेटका चर्चित खेलाडीहरूको बाक्लो उपस्थिति छ।

अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट मैदान उत्रिँदैछन् भने वेस्ट इन्डिजका आन्द्रे रसेलसहित श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असालंका विराटनगर किङ्समा आबद्ध छन्। सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका सेरफन रदरफोर्ड र फाबियन एलेनलाई अनुबन्ध गरेको छ।

पोखरा एभेन्जर्समा बंगलादेशका पूर्वकप्तान सकिब अल हसन, मोहम्मद सैफुद्दिन र महेदी हसन छन् भने कर्णाली याक्सबाट दक्षिण अफ्रिकाका डेभिड मिलरसहित पाकिस्तानका साहबजादा फरहान, हुसैन तलात तथा बंगलादेशका अकबर अली र अरिफुल इस्लामले खेल्नेछन्। यस्तै, लुम्बिनी लायन्समा बंगलादेशका शमीम हुसेन अनुबन्धित छन्।

यसबाहेक इंग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिमी निसम, जिम्बाब्वेका कप्तान सिकन्दर राजा तथा पाकिस्तानका मोहम्मद नवाज, हसन अली, हैदर अली, उसामा मिर र इफ्तिखार अहमदजस्ता विश्वचर्चित खेलाडीहरू पनि विभिन्न टोलीबाट मैदानमा देखिनेछन्।

घरेलु क्रिकेटमै पहिलोपटक 'डीआरएस' प्रविधि
यस संस्करणमार्फत नेपाली घरेलु क्रिकेट इतिहासमै पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याइँदैछ।

मैदानमा रहेका अम्पायरको निर्णयमा शंका लागेमा दुवै टोलीले प्रति इनिङ्स दुईवटा ‘रिभ्यु’ लिन पाउने व्यवस्था गरिएको छ। विशेष गरी एलबीडब्लू, क्याच आउट, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नो–बल र वाइडका विवादित निर्णयहरू निरूपण गर्न थर्ड अम्पायरले यो प्रविधिको सहायता लिनेछन्।

साथै, ब्याटरले प्रहार गरेको छक्काको दूरी र उचाइ मापन गर्नसमेत यस प्रविधिको प्रयोग गरिनेछ।

चमकधमकबीच अपारदर्शिता र अडिटको पुरानै छाया
मैदानभित्र खेलको उल्लास र व्यावसायिक चमक देखिए पनि प्रतियोगिता सुरु हुनुपूर्व क्यानको आर्थिक पारदर्शिता, अडिट र कार्यशैलीमाथि चर्को प्रश्न उठेको छ।

अघिल्ला दुई संस्करणमा भएका करोडौंका हिसाबकिताब, टेन्डर प्रक्रिया र नियमन उल्लंघनका विषयले क्यान नेतृत्वलाई पुनः घेरेको छ।

विगतका संस्करणमा ब्रोडकास्टिङ पार्टनर, टिसिएम र स्टार स्पोर्ट्स्को खर्च विवरण लुकाइएको, करिब १६ करोड रुपैयाँको हिसाबकिताबमा गडबडी देखिएको तथा विदेशी पाहुनाहरूलाई कानुनविपरीत भुक्तानी गरिएको विषयमा सञ्चारकर्मीहरूले क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँग जवाफ मागेका थिए।

यसअघि विज्ञापन बोर्ड र गृह मन्त्रालयको निर्देशनविपरीत एनपीएलमा ‘वुल्फ’ र ‘डाफा’ जस्ता अनलाइन जुवाका सरोगेट विज्ञापन भित्र्याइएको विषयमा मन्त्रालयद्वारा गठित छानबिन कार्यदलले खरिद कानुन उल्लङ्घन भएको ठहर गर्दै फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाएको थियो।

तेस्रो संस्करणमा जुवाका विज्ञापन नदेखिए पनि दुईवटा टिमले मदिराका सरोगेट विज्ञापनलाई प्रचार सामग्रीमा समावेश गरेका छन्, जसमाथि विज्ञापन बोर्डले प्रभावकारी अनुगमन गर्न सकेको छैन।

‘नियत सफा छ, सच्याउन तयार छौँ’
एनपीएललाई संस्थागत गर्नुको साटो ‘व्यक्ति केन्द्रित’ बनाएको र हिसाबकिताब लुकाएको आरोपमाथि सचिव पारस खड्काले आलोचनालाई आफूहरूले सकारात्मक रूपमा लिएको बताए।

“हामीले राष्ट्रिय खेलकुद परिषद् (राखेप), खेलकुद मन्त्रालय र सरकारी निकायहरूले मागेका सबै विवरण तथा कागजात औपचारिक रूपमै बुझाइसकेका छौँ,” खड्काले भने, “एनपीएल कुनै व्यक्तिलाई चर्चित बनाउन वा कसैलाई होच्याउन गरिएको होइन, यो क्यानको संस्थागत प्रयास हो। नियत सफा हुँदाहुँदै पनि प्रक्रियागत रूपमा कतै कमजोरी भएका छन् भने त्यसलाई सुधारेर अघि बढ्न हामी सधैँ तयार छौँ।”

कात्तिक ९, २०८३ सोमबार ०७:३७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।