महालक्ष्मीको पूजाआराधनासँगै कोजाग्रत पूर्णिमा मनाइयो, आज रातभर जाग्राम बसिँदै

महालक्ष्मीको पूजाआराधनासँगै कोजाग्रत पूर्णिमा मनाइयो, आज रातभर जाग्राम बसिँदै

काठमाडौं : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी आइतबार कोजाग्रत पूर्णिमा मनाइएको छ।

यससँगै आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं पर्व आजदेखि विधिवत् रूपमा समापन भएको छ।

आज साँझ घर-घरमा महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ। रात्रिका समयमा पृथ्वी भ्रमणमा निस्कने महालक्ष्मीले जाग्राम बसेका भक्तजनको घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास छ।

माता दुर्गाका तीन रूप महाकाली, महासरस्वती र महालक्ष्मीमध्ये अन्तिम दिन महालक्ष्मीको आराधना गरेर दुर्गा पक्षलाई बिदा गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए।

शास्त्रोक्त विधिअनुसार गर्नुपर्ने ‘अखिल बलिपूर्ति’को कार्य पनि आजै सम्पन्न भएको छ। बलिपूर्ति भएसँगै विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप मान्यजनबाट टीका र जमरा लगाउने क्रम पनि औपचारिक रूपमा सकिएको छ।

आजै दशैंघर तथा पूजाकोठामा राखिएको जमरालाई नजिकको नदी, तलाउ, पोखरी वा पवित्र जलाशयमा लगेर विसर्जन गरिएको छ।

तिहारको लक्ष्मीपूजा आउनुभन्दा ठिक १५ दिनअघि महालक्ष्मीको विशेष आराधना गरिने भएकाले पनि यस पूर्णिमाको विशेष धार्मिक महत्त्व छ। यस तिथिलाई ‘कौमुदी पूर्णिमा’ समेत भन्ने गरिन्छ।

आजको दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा चढेका देवराज इन्द्रको समेत पूजा गरिएको छ। अध्यक्ष भट्टराईका अनुसार आजको रात कौडा वा पासा खेल्ने शास्त्रीय विधानसमेत रहेको छ। साँझको पूजा सम्पन्न भएसँगै श्रद्धालुहरू रातभर भजनकीर्तन तथा जाग्राम बस्ने गर्दछन्।

राससको सामग्री सम्पादनसहित प्रकाशित

कात्तिक ९, २०८३ सोमबार ०७:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।