रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी साधन पनि दुईतर्फी गुड्ने

रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी साधन पनि दुईतर्फी गुड्ने

काठमाडौं :  त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा जिल्लामा यातायात पहुँच कायम राख्न नयाँ वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। 

ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकअन्तर्गत विभिन्न खण्डहरूमा मर्मत तथा सुधारका काम सम्पन्न भएसँगै यातायात सहज बनेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले दाबी गरेको छ।

सचिवालयका अनुसार सडक विभाग तथा सम्बन्धित निकायद्वारा बोरे भञ्ज्याङ-सानो खोला-धनस्वारा-पाटिखर्क खण्डमा एक्स्काभेटर, ब्याकहो लोडर र टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल बिछ्याउने तथा कल्भर्ट निर्माण गर्नेलगायतका कार्यहरू गरिएको थियो। 

यी मर्मत कार्यहरूपछि उक्त खण्डमा अब ठूला सवारी साधनहरू पनि दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको मन्त्रीको सचिवालयको ह्वाट्सएप समूहमा राखिएको विवरणमा उल्लेख छ।

यसअघि काठमाडौं-टोखा-छहरे-चौघडा पुल-बाहुनबेसी-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटिखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडक खण्डबाट मात्र चार चक्के साना सवारी साधनहरू सञ्चालन हुँदै आएका थिए। हाल पाटिखर्कसम्म पुग्नका लागि यातायात चालकहरूलाई थप सहजता प्रदान गर्न दुईवटा छुट्टाछुट्टै वैकल्पिक मार्गहरू निर्धारण गरिएको उल्लेख छ।

त्यसमा जाने बाटोमा फेदीबेसी चोक, हिरामुनिटार, चोगते, बोरे भञ्ज्याङ, सानो खोला (रसुवा), धनस्वारा र पाटीखर्कको रुट तोकिएको छ भने फर्कन पाटिखर्क, लच्याङ, नर्जा, आप्र, बाहुनबेसी, चौघडा पुलहुँदै मध्यपहाडी राजमार्ग तोकिएको छ।

भदौ २२, २०८३ सोमबार २१:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।