हिजो झोले भनेर गाली गर्ने रास्वपाका समर्थक आज त्यही बाटोमा लागेको पौडेलको टिप्पणी, रास्वपाकै सांसदको समर्थन!
काठमाडौं : फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले सोमबार विपद्का पीडितहरूले राज्यको कमजोरी औँल्याउँदा उनीहरूमाथि नै सामाजिक सञ्जालमा भइरहेको निकृष्ट आक्रमणको आलोचना गरे।
भोटेकोशी बाढीमा आफन्त गुमाएका पीडितहरूले आक्रोश पोख्नु र सरकारको आलोचना गर्नुलाई स्वाभाविक मानवीय प्रक्रिया भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका समर्थकहरूले उनीहरूलाई उल्टै गालीगलौज गरेर ‘घाउमा नुन छर्कने’ काम गरेको उल्लेख गरे।
सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, "आफ्नो आफन्त बाढीमा हराएका वा मरेको बेला मान्छे होसमा हुँदैनन्, न राम्रोसँग खाएका हुन्छन्, न सुतेका हुन्छन्। उहाँहरूले गुहार माग्दा मतलब र आश्वासन नभएपछि आक्रोश पोख्नु, सरकारलाई गाली गर्नु सामान्य हो। तर रास्वपा र सरकारका अन्ध समर्थकहरूले पीडामा भएका आफन्तलाई उल्टै घाउमा नुन छर्कने काम गरेका छन्।"
पुराना राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादी (हाल नेपाली कम्युनिष्ट पार्टी) अन्ध समर्थकहरूको (झोले)को कारण वर्तमान अवस्था पुगेको पौडेको टिप्पणी छ। तर, नागरिकले करिब दुई तिहाइ बहुमत दिएर पठाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसको सरकारका समर्थकहरूले पनि विगतका तिनै दलका समर्थकको जस्तै प्रवृत्ति र बाटो पछ्याइरहेको उनको धारणा छ।
पौडेलले भनेका छन्, "झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ... अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दैछन्।" उनको यस पोस्टमा रास्वपाकी सांसद आशिका तामाङले पनि समर्थन जनाएकी छन्। उनले आफ्नै पार्टीको जन्म कुन ढंगले भएको थियो भन्ने विषयमा प्रश्न उठाएकी छन्।
सांसद तामाङले नागरिकको चेतना परिवर्तन गरेर पार्टी परिवर्तन गर्दा परिवर्तन नहुने जिकिर गरेकी छन्। पौडेलको स्टाटसमा उनले कमेन्ट गरेकी छन्, "अनि रास्वपा को जन्म कसरी भयो त भाइ? त्यही पुरानो तीन पार्टीबाट मिश्रित भएर त उदय भयो नि, नयाँ पार्टी, तर जनता उही, समर्थक उही! देश परिवर्तन हुन पार्टी परिवर्तन गरेर केही हुँदैन, जनताका चेतना चाहिँ परिवर्तन हुनुपर्छ, त्यसै भनेको होइन मैले!"
भोटेकोशी बाढीका पीडितहरूले उद्धार र राहतमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदा सञ्जालमा उनीहरू विरुद्ध निकृष्ट ट्रोलिङ र चरित्रहत्याको प्रयास भइरहेको छ। स्थिति यतिसम्म विचलित पार्ने बन्यो कि, प्रधानमन्त्री वालेन्द्र शाह स्वयंले सार्वजनिक रूपमा चेतावनी दिँदै पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्नेहरूलाई ‘अपराधी’को संज्ञा दिन पर्यो।
पीडितमाथि सामाजिक सञ्जालमार्फत रास्वपा र सरकारका समर्थकहरू मानवीय संवेदना बिर्सिएर आक्रामक रूपमा प्रस्तुत हुने गरेको आरोप लागिरहेको छ। समर्थकहरूबाट भइरहेको यस्तो कार्यलाई रोक्न रास्वपा नेतृत्व र सरकारबाट ठोस कुनै अपिल वा कार्य भएका छैनन्। यद्यपि प्रधानमन्त्री शाहले भने आफ्नो सामाजिक सञ्जालमार्फत सचेत भने गराएका छन्।
‘पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने र थप पीडा दिनेहरू अपराधी हुन्’ शाहले सामाजिक सञ्जालमार्फत चेतावनी दिएपछि विगतमा उनका सहयोगीको रूपमा चिनिएका पौडेलले पनि बाढी पीडितहरूमाथि भइरहेको प्रहारलाई लिएर टिप्पणी गरे।
हिजो पुराना राजनीतिक दलका बेथितिविरुद्ध प्रश्न उठाउन र नयाँ शक्तिको उदयका लागि सामाजिक सञ्जाललाई मुख्य हतियार बनाइएको थियो। तर, अहिले तिनै व्यक्तिहरू सत्तामा पुगेपछि सोही माध्यमलाई सरकारको साख जोगाउने नाममा आलोचक, पीडित र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यममाथि आक्रमण गर्न प्रयोग गरिरहेका छन्।

भदौ २२, २०८३ सोमबार २०:०७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।