मध्यराति वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहका पाँच जना पक्राउ, मन्दिरको दान पेटिका चोरीसम्मका अपराधमा संलग्नता!

मध्यराति वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहका पाँच जना पक्राउ, मन्दिरको दान पेटिका चोरीसम्मका अपराधमा संलग्नता!

काठमाडौं : भदौ १८ गते राति १२ बजेको थियो, रामेछापको मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङको घरमा तीन जना नकाबधारीको समूह ढोका फोडेर भित्र प्रवेश गर्छन्।

वृद्ध दम्पती सुतिरहेको अवस्थामा घरभित्र प्रवेश गरेको नकाबधारीले उनीहरूको हात प्लास्टिकको टेपले बाँध्छन्, मुख थुन्छन् र आँखामा समेत पट्टी लगाउँछन्। त्यसपछि उनीहरू ज्यान मार्ने धम्की दिन्छन् र दम्पतीले लगाएका सुनका गहना र घरमा भएको नगद लुटेर निस्किन्छन्।

वृद्ध दम्पतीलाई आफ्नै घरमा बन्धक बनाएर लुटपाट गरेको उजुरी प्रहरीमा पर्छ। त्यसपछि घटनाको अनुसन्धानमा जुटेको प्रहरी टोलीले घटनाको दुई दिनपछि भदौ २० गते लुटपाटमा संलग्न पाँच जनाको गिरोहलाई पक्राउ गर्छ।

पक्राउ पर्नेहरूमा सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका- २ का ३२ वर्षीय दीर्घराज मोक्तान र ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका- ७ का ४४ वर्षीय पितम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका- ५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मन्थलीका अनुसार लुटपाटमा संलग्न उनीहरूलाई शनिबार भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। उनीहरूको साथबाट प्रहरीले बा ७३ प ८७१२ र बा ७२ प ५५८ नम्बरका दुई वटा मोटरसाइकल, नगद रकम, मोबाइल सेटहरू, नागरिकता, विभिन्न बैंकका चेक तथा भौचर, बुद्धचित्तको माला, सुनका गहना लगायतका सामान बरामद गरेको छ।

अन्य अपराधमा पनि संलग्नता
प्रहरीका अनुसार उनीहरू संलग्न रहेको यो एउटा मात्र घटना होइन, अन्य आपराधिक घटनामा समेत यो समूह संलग्न रहेको खुल्यो। 

पशुपति श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका-७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाई रकम चोरी गरेको तथा खाँडादेवी-३ बाट खसी र बोका चोरी गरेको घटनामा समेत संलग्नता देखिएको प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए। 

त्यस्तै प्रहरीको 'क्रिमिनल रेकर्ड सिस्टम' (सीआरएस) अनुसार पक्राउ परेकामध्ये पशुपति श्रेष्ठविरुद्ध यसअघि कालीमाटी वृत्तमा डाँका चोरी मुद्दा चलेको देखियो। दीर्घराज मोक्तानविरुद्ध पनि अभद्र व्यवहार र गुणराज विश्वकर्माविरुद्ध जुवासम्बन्धी मुद्दा चलेको देखिएको राउतले बताए।

भदौ २२, २०८३ सोमबार १८:५७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।