कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आह्वान, असन्तुष्ट पक्षलाई समेत स्वीकार्य हुनेगरि नयाँ कार्यतालिका आउला?
काठमाडौं : नेपाली कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले वडा अधिवेशन स्थगन गरेर नयाँ कार्यतालिका ल्याउने निर्णय गरेपछि पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठक डाकिएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय निर्वाचन समितिको बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका तयार गर्ने बताइन्छ। पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औँ महाधिवेशन रोक्न सर्वोच्च अदालत पुगेका थिए। तर, अदालतले उनीहरूको मागबमोजिम आदेश जारी गर्न नपर्ने ठहर गर्यो।
अदालतको यो आदेशसँगै संस्थापन पक्षलाई महाधिवेशनको काम निर्वाधरुपमा अघि बढाउन बाटो खुल्यो। तत्पश्चात् संस्थापन इतर पक्षले पनि आफू १४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक समिति रहेकोले १५ औँ महाधिवेशन गराउने जिम्मेवारी आफ्नो रहेको भन्दै महाधिवेशनको कार्यतालिका ल्याउने घोषणा गर्यो।
यहीबीच संस्थापन पक्ष र असन्तुष्ट इतर पक्षका नेताहरुबीच आन्तरिक एकता र महाधिवेशन लगायतका विषयमा छलफल भयो। विशेषगरि पूर्व कार्यवाहक सभापति खड्का र नेता डा. शेखर कोइरालासँग सभापति गगन थापाले छलफल गरे।
उनीहरूसँग भएको छलफल पश्चात् संस्थापन पक्ष उनीहरूका माग सम्बोधन गर्ने विषयमा केही लचक भएको बताइन्छ। असन्तुष्ट पक्ष केही नेताहरूलाई भए पनि साथमा लिएर महाधिवेशन गर्ने रणनीतिमा संस्थापन पक्ष देखिएको र सोही अनुरूप महाधिवेशनको कार्यतालिका स्थगित गर्ने निर्णय भएको बताइएको छ।
भदौ २२, २०८३ सोमबार १७:४१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।