जग्गा प्लट मिलानमा घुस लिएको आरोपमा नापीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : जग्गा हालसाबिक गरी प्लट मिलान गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी कार्यालय कलङ्कीका दुई कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको छ।
नापी कार्यालय कलङ्कीका तत्कालीन सर्वेक्षक अमितकुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
उनीहरूले साविक मच्छेगाउँ-९ (हाल चन्द्रागिरि नगरपालिका-९) मा रहेको जग्गा हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सेवाग्राहीको जग्गा हालसाबिक गरी प्लट मिलान गर्ने कार्यका लागि सहजीकरण गरिदिने उनीहरूले घुस माग गरेका थिए। नियमपूर्वक गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई विभिन्न बहानामा दुःख र हैरानी दिँदै उनीहरूले रकमको बार्गेनिङ गरेको उनको बताए।
घुसबापतको रकम लिने क्रममा उनीहरूले चलाखीपूर्ण र बदनियत पूर्ण तरिका अपनाएको आयोगले जनायो। घुस लिएको प्रमाण फेला नपरोस् र कानुनी कारबाहीबाट बच्न सकियोस् भन्ने उद्देश्यले उनीहरू आफैँले रकम नबुझी कार्यालय सहयोगीमार्फत घुसबापतको रकम सेवाग्राहीबाट लिएका थिए।
उक्त रकम श्रेष्ठ र पार्धेकै लागि उनीहरूकै सहमतिमा लिइएको अनुसन्धानको क्रममा खुलेको आयोगले जनाएको छ। उनीहरू दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाएको छ।
उनीहरूलाई ५० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ (१) को देहाय (क) बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवाना गर्न मागदाबी गरिएको छ।
भदौ २२, २०८३ सोमबार १५:१९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।