भोटेकोशी बाढीमा खुसी मनाउँदै सामाजिक सद्भावमा आघात पुर्याउने भिडियो बनाएको आरोपमा एक युवक पक्राउ
काठमाडौं : सामाजिक सञ्जालमार्फत सामाजिक सहिष्णुतामा आघात पुग्ने गरी भिडियो सामग्री प्रसारण गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
काठमाडौंको बलम्बुबाट पक्राउ परेका २४ वर्षीय बिरेन्द्र मडै बैतडीको सुर्नया गाउँपालिका-७ का स्थायी बासिन्दा हुन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले पुऱ्याएको जनधनको क्षतिप्रति खुसी व्यक्त गर्दै उनले विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने भिडियो फेसबुक रिलमा सार्वजनिक गरेका थिए।
भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको साइबर ब्युरोले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट बिरेन्द्रको संलग्नता रहेको देखिएपछि शनिबार उनलाई पक्राउ गर्यो।
बिरेन्द्रमाथि काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
विपत्तिको समयमा सामाजिक सद्भाव बिथोल्ने गरी सामग्री उत्पादन र प्रसारण गरेको सम्बन्धमा थप प्रमाण संकलन तथा अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ।
भदौ २२, २०८३ सोमबार १४:५४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।