हजुरआमाको हत्या गरेर भाग्दै गरेका युवा पक्राउ
काठमाडौं : म्याग्दीको बेनी नगरपालिका-२, खबरामा धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।
७२ वर्षीया मनकुमारी घिमिरेलाई धारिलो हतियार प्रहार गरी फरार भएको अभियोगमा उनका नाति २६ वर्षीय आशिष बरुवाललाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सोमबार बिहान करिब साढे ११ बजे बरुवालले हजुरआमा घिमिरेलाई धारिलो हतियार प्रहार गरी फरार भएका थिए। बरुवाल मृतक घिमिरेकी छोरीका छोरा हुन्।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली खोजतलासमा खटिएको थियो। प्रहरीले बरुवाललाई बेनी नगरपालिका-२ हाडेभिरस्थित भाग्दै गरेको अवस्थामा फेला पारेको थियो।
उनलाई नियन्त्रणमा लिए पश्चात् घटनाबारे थप अनुसन्धान तथा प्रमाण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ।
भदौ २२, २०८३ सोमबार १४:३४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।