सेनाका छ सुरक्षा बेसबाट घातक हतियार र गोलीगट्ठा बगायो

सेनाका छ सुरक्षा बेसबाट घातक हतियार र गोलीगट्ठा बगायो

विदुर : गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नुवाकोट र रसुवामा तैनाथ नेपाली सेनाका विभिन्न सुरक्षा बेसहरू प्रभावित भई हातहतियार, गोलीगट्ठा र सैन्य उपकरणहरू बगाएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक सार्वजनिक सूचना जारी गर्दै बाढीले बगाएका हातहतियार, गोलीगट्ठा तथा सैनिक सामग्रीहरू कतै फेला परेमा नजिकैको नेपाली सेनाको ब्यारेक वा नेपाल प्रहरीलाई तत्काल खबर गरिदिन सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रशासनका अनुसार शेर गण, श्रीडाँडा ब्यारेक, देवीघाट सुरक्षा बेस, टिमुरे सुरक्षा बेस, स्याफ्रुबेँसी सुरक्षा बेस र मैलुङ सुरक्षा बेस बाढीको प्रत्यक्ष चपेटामा पर्दा त्यहाँ भण्डारण गरिएका तथा सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार, गोलीगट्ठा, सञ्चार उपकरण र अन्य सैन्य बन्दोबस्तीका सामग्री नदीले बगाएको प्रशासनले जनाएको छ।

ती संवेदनशील हातहतियार अन्य व्यक्तिको हातमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले फेला पर्नासाथ सुरक्षा निकायमा बुझाउन वा जानकारी दिन आग्रह गरेको हो।

कस्ता हतियार प्रयोग गर्छ नेपाली सेनाले?
जिल्ला प्रशासन कार्यालयको सूचनामा बाढीले बगाएका हातहतियारको यकिन सङ्ख्या र प्रकार खुलाइएको छैन।

यद्यपि, नेपाली सेनाका नियमित इन्फेन्ट्री (पैदल) गण तथा यस्ता संवेदनशील सीमा र नदी तटीय सुरक्षा बेसहरूमा सामान्यतया निम्न प्रकारका साना तथा मध्यम हतियार र उपकरणहरू तैनाथ रहने गर्छन्।

सेनाले अहिले एम१६, इन्सास, एसएलआर, के२सी१, एमपी-५ मेसिनगन, ब्राउनिङ हाई-पावर, बेरेटा वा ग्लक ९ एमएम पेस्तोलहरू प्रयोग गर्छ। यसका अलावा सुरक्षा पोष्टको प्रतिरक्षाका लागि एफएन मिनिमि वा इन्सास एलएमजी राखिन्छन्।

विभिन्न क्यालिबरका हजारौँ राउन्ड गोलीहरू, म्यागजिन, हाते ग्रेनेड र सञ्चारका लागि प्रयोग हुने वायरलेस सेटहरू पनि सेनाले प्रयोग गर्ने गर्छ।

भदौ २२, २०८३ सोमबार १३:३६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।