रसुवा बाढीमा मृतकको सङ्ख्या १३ सय ५५ पुग्यो, करिब पाँच हजार अझै बेपत्ता

रसुवा बाढीमा मृतकको सङ्ख्या १३ सय ५५ पुग्यो, करिब पाँच हजार अझै बेपत्ता

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ भने करिब ४ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्‌मा परी १३ हजार ३१६ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान (सनाखत) भई आफन्तलाई बुझाइएको छ। बाँकी शव तथा मानव अङ्गहरूको पहिचान प्रक्रिया जारी छ।

आठ जिल्लाबाट शव फेला
बाढीले बगाएर ल्याएका शव तथा मानव अङ्गहरू आठवटा जिल्लाबाट फेला पारिएको छ। सबैभन्दा बढी चितवनबाट ३६३ वटा शव फेला परेका छन्।

यस्तै, नवलपरासी पूर्वबाट २२२, नवलपरासी पश्चिमबाट २२१, नुवाकोटबाट १९७, रसुवाबाट १६९, गोरखाबाट ७५, धादिङबाट ७० र तनहुँबाट ३८ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीनको सङ्ख्या ४,९१६
जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त पछिल्लो विवरणअनुसार रसुवाका करिब १ हजार ९६७ जना र नुवाकोटका २ हजार ३४० जना नेपाली नागरिक अझै सम्पर्कविहीन छन्।

यस्तै, खोज तथा उद्धार एवं आयोजनाहरूमा कार्यरत करिब १०० जना सुरक्षाकर्मी तथा कर्मचारी र ५८९ जना विदेशी नागरिक बेपत्ता छन्।

सम्पर्कविहीनको यो सूचीमा पहिचान हुन बाँकी शवहरू तथा उद्धार गरिएका व्यक्तिहरूसमेत परेको हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ।

उपचार र राहत शिविरको अवस्था
विपद्‌मा घाइते भएका ६ हजार ६७२ जनाको उपचार गरिएको छ। जसमध्ये नेपाली सेनाबाट ३ हजार ३७९ र सशस्त्र प्रहरीबाट २ हजार ९७० जनाको उपचार भएको छ। विभिन्न अस्पतालमा उपचाररत ३२३ जनामध्ये २२८ जना डिस्चार्ज भइसकेका छन्।

यस्तै, रसुवा, नुवाकोट र धादिङमा सञ्चालित ३९ वटा ‘होल्डिङ सेन्टर’हरूमा ३ हजार ५३३ जनालाई आश्रय दिइएको छ। जसमा नुवाकोटमा २ हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन्।

२१ हजार सुरक्षाकर्मी र व्यापक हेलिकप्टर उडान
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना जनशक्ति खटिएका छन्।

सेनाको हेलिकप्टरमार्फत आज ३९ पटकसहित हालसम्म १ हजार १५७ पटक, निजी क्षेत्रबाट १२९ पटक र सशस्त्र प्रहरीद्वारा १९३ पटक हवाई उडान गरी उद्धार तथा राहत ढुवानी गरिएको छ। भदौ २१ गते रसुवामा एक हेलिकप्टरमार्फत खाद्यान्न र चारवटा ट्रकमार्फत जेनेरेटर, हाइजिन किट तथा स्टुडेन्ट किट ढुवानी गरिएको थियो।

१५ करोड नगद राहत निकासा
नेपाल सरकारले प्रभावित क्षेत्रका लागि नगद राहत उपलब्ध गराएको छ। जसअन्तर्गत रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र अतिप्रभावित १५ वटा पालिकालाई गरी कुल १३ करोड ५० लाख रुपैयाँ निकासा गरिएको छ।

प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ भने ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको छ।

यस्तै, विद्युत् पूर्वाधार मर्मत तीव्र पारिएसँगै धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सञ्चालनमा आएको छ।

सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ वटा र एनसेलका ७८ मध्ये ७६ वटा टावर पुनः सञ्चालनमा आइसकेका छन्। बाढी प्रभावित क्षेत्रका नागरिकलाई मनोसामाजिक परामर्श दिन स्वास्थ्य मन्त्रालयले १५० जनाको टोली परिचालन गरेको प्राधिकरणले जनाएको छ।

भदौ २२, २०८३ सोमबार ११:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।