हाल्यान्डमाथि बार्सिलोनाको नजर, अलबालाई युनाइटेडको ‘नो’ !

हाल्यान्डमाथि बार्सिलोनाको नजर, अलबालाई युनाइटेडको ‘नो’ !

काठमाडौं : विन्टर ट्रान्सफर विन्डो नजिकिँदै गर्दा युरोपका शीर्ष क्लबहरूबीच खेलाडी भित्र्याउने होडबाजी र नयाँ रणनीतिक योजनाहरू सतहमा आउन थालेका छन्।

बार्सिलोनाको योजनादेखि म्यानचेस्टर युनाइटेडको कडा नीति र रियल म्याड्रिडको आन्तरिक फेरबदलले अन्तर्राष्ट्रिय फुटबल बजार तातिएको छ।

स्पेनिस क्लब बार्सिलोनाले आफ्ना युवा स्टार लामिन यामाललाई केन्द्रमा राख्दै सन् २०२७ सम्ममा विश्वकै सबैभन्दा घातक अट्याकिङ लाइनअप बनाउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ।

यसअन्तर्गत एथ्लेटिको म्याड्रिडका हुलियन अल्भारेजका साथै म्यानचेस्टर सिटीका गोल मेसिन एर्लिङ हाल्यान्डलाई क्याम्प नोउ भित्र्याउने गृहकार्य सुरु भइसकेको छ।

यसैबीच, आगामी जनवरी विन्डोका लागि बार्सिलोनासँग फाइनान्सियल फेयर प्ले अन्तर्गत करिब ६ करोड युरो खर्च गर्न पाउने सुविधा छ।

क्लबले यो रकम नयाँ खेलाडी अनुबन्धमा खर्च गर्ने वा ला लिगाको नयाँ नियम सदुपयोग गर्दै यसको ७५ प्रतिशत रकम आगामी सिजनको तलब सीमामा जोड्ने भन्नेबारे आन्तरिक छलफल गरिरहेको छ।

अलबामाथि म्यानचेस्टर युनाइटेडको ‘नो’, पुरानो गल्ती नदोहोर्याउने नीति
म्यानचेस्टर युनाइटेडले अस्ट्रियन डिफेन्डर डेभिड अलबा वा अन्य कुनै पनि ‘फ्री एजेन्ट’ खेलाडी अनुबन्ध गर्न अस्वीकार गरेको छ।

बढी उमेर र चर्को तलब माग गर्ने खेलाडी ल्याएर विगतमा क्लबले गरेका गल्तीहरू अब नदोहोर्याउने निष्कर्षमा युनाइटेड पुगेको हो।

यता, युनाइटेडले नजर लगाएका न्युकासल युनाइटेडका लेफ्ट ब्याक लुइस हलले सेन्ट जेम्स पार्कमा थप दुई वर्षको सम्झौता नवीकरण गर्ने तयारी गरेपछि युनाइटेडलाई अर्को धक्का लागेको छ।

यस्तै, क्रिस्टोफर एनकुन्कुले पनि युनाइटेड र न्युकासल दुवैको प्रस्ताव लत्याएर आरबी लेइपजिग फर्कने निर्णय लिएका छन्।

रियल म्याड्रिडमा बेन्जेमाको पुनरागमन रोकियो
रियल म्याड्रिडले आफ्ना पूर्व स्टार स्ट्राइकर करिम बेन्जेमालाई पुनः क्लबमा फर्काउने प्रयास गरेको खुलासा भएको छ।

तर, साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौतासम्बन्धी विवादका कारण सो प्रक्रिया अघि बढ्न सकेन। फ्रान्सेली स्ट्राइकर बेन्जेमाको सम्झौता रद्द हुँदासम्म रियल म्याड्रिडको चासो भने समाप्त भइसकेको थियो।

यसैगरी, रियल म्याड्रिडका मुख्य प्रशिक्षक जोसे मोउरिन्होले ड्यानी सेवायोसलाई आफ्नो योजनामा नरहेको स्पष्ट पारेपछि उनी ‘फ्री ट्रान्सफर’मा क्लब छाड्न सहमत भएका छन्।

अर्कातर्फ, इटालियन क्लब एसी मिलान रियलका युवा स्टार एन्ड्रिकलाई जनवरीमा लोनमा भित्र्याउने योजनामा छ। यद्यपि, यो सम्झौता मोउरिन्होले उनलाई कत्तिको मैदानमा उतार्छन् भन्नेमा निर्भर रहनेछ।

प्रिमियर लिग क्लबहरूको आक्रामक रणनीति
आर्सनलले जनवरी ट्रान्सफरका लागि दुई खेलाडीको सर्टलिस्ट तयार पारेको छ; जसमा एथ्लेटिको म्याड्रिडका हुलियन अल्भारेज र बर्नमाउथका १९ वर्षीय स्ट्राइकर जुनियर क्रुपी छन्।

लिभरपुल जनवरी विन्डो खुल्नेबित्तिकै ब्राइटनका विङ्गर यान्कुबा मिन्तेहलाई भित्र्याउन निकै आशावादी छ।

चेल्सीले बर्नमाउथका मिडफिल्डर एलेक्स स्कटलाई तत्काल अनुबन्ध गरी यस सिजनको अन्त्यसम्म बर्नमाउथमै लोनमा छाड्ने तयारी गरेको छ।

यता, टोटनह्याम हट्सपरले चेल्सीबाट लोनमा आएका मिखाइलो मुद्रिकले सोचेअनुरूप प्रदर्शन गरेमा उनलाई ७ करोड ५० लाख पाउन्ड तिरेर स्थायी रूपमा राख्ने विकल्प खुला राखेको छ।

मोनाको र पिएसजीबीचको खेलमा मोनाकोका मिडफिल्डर लामिन कामराको खेल हेर्न चेल्सी, लिभरपुल, आर्सनल र म्यानचेस्टर सिटी चारवटै ठूला क्लबका प्रतिनिधि मैदान पुगेका थिए।

म्यानचेस्टर सिटीले अर्जेन्टिनी युवा खेलाडी क्लाउडियो एचेभेरीलाई पोर्चुगिज क्लब बेन्फिकामा लोनमा पठाउँदा ५ करोड ८० लाख डलरको ‘बाई-ब्याक क्लज’ सुरक्षित गरेको छ।

फ्रान्सेली क्लब लेन्सले आफ्ना लेफ्ट ब्याक म्याथ्यु उडोललाई एस्टन भिल्ला र सन्डरल्यान्डले मागे पनि बेच्न ठाडै अस्वीकार गरेको छ।

भदौ २२, २०८३ सोमबार ११:३८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।