विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई प्रतिपरिवार १० हजार कोठा भाडा दिने, भदौ २४ देखि विद्यालय खुल्ने
त्रिशूली : भोटेकोशी नदीमा आएको बाढीका कारण घरबारविहीन भएका स्थानीय बासिन्दालाई नुवाकोटको विदुर नगरपालिकाले कोठा भाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
आइतबार नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको १३४औं बैठकले बाढीले बस्न अयोग्य भएका घरका परिवारलाई भाडामा बस्न प्रोत्साहन गर्दै उक्त रकम दिने निर्णय गरेको हो।
‘होल्डिङ सेन्टर’को बसाइ छोट्याउन र विस्थापित परिवारलाई पुनःस्थापनामा सघाउ पुर्याउन नगरपालिकाले यो राहत घोषणा गरेको हो।
नगरप्रमुख श्रेष्ठका अनुसार भाडा रकमका साथै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भान्साका भाँडाकुँडा र दैनिक सरसफाइका सामग्रीसमेत राहतस्वरूप उपलब्ध गराइनेछ।
साथै, विपद्को मौका छोपी कोठा भाडामा दिँदा प्रचलित चलनचल्तीभन्दा बढी भाडा नलिन घरधनीहरूलाई नगरपालिकाले सचेत गराएको छ। बढी भाडा लिएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी कार्यपालिकाले दिएको छ।
बाढी प्रभावित भएको करिब दुई साता पुग्न लागेकाले अब दीर्घकालीन पुनःउत्थानतर्फ लाग्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताए।
‘घर पूर्ण रूपमा क्षति भएकाले सोही स्थानमा तत्काल नयाँ आवास निर्माण सम्भव छैन,’ उनले भने, ‘विपद्पछिको तत्कालको राहतभन्दा अब तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र दाताहरूसँग सहकार्य गरी अस्थायी आवास निर्माण र दिगो सहयोग जुटाउनेतर्फ लाग्नुपर्छ।’
यस्तै, विदुरका होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकामध्ये करिब आधा सङ्ख्या अन्य जिल्ला र पालिकाका नागरिक रहेको पाइएकाले उनीहरूको व्यवस्थापनको जिम्मा सम्बन्धित स्थानीय तह तथा जिल्लालाई नै लिन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।
भदौ २४ देखि विद्यालय सञ्चालन, ड्रेस अनिवार्य नहुने
बाढीका कारण रोकिएको नगरभित्रको पठनपाठन यही भदौ २४ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय नगरपालिकाले गरेको छ। अस्थायी आवास (सेल्टर) का रूपमा प्रयोग गरिएका र पूर्ण रूपमा क्षति पुगेका बाहेक अन्य सबै विद्यालयहरू २४ गतेदेखि खुल्नेछन्।
विद्यार्थीहरूलाई सहज रूपमा पठनपाठनमा फर्काउन आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा गएर पढ्न पाउने व्यवस्था मिलाइएको छ। यसका लागि तत्काल विद्यालय पोसाक समेत अनिवार्य नगरिने नगरपालिकाले जनाएको छ।
यसैबीच, बाढीबाट सम्पूर्ण संरचना ध्वस्त भएको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई वडा नं ९ बाट सञ्चालन गरिने भएको छ।
सो विद्यालयका १ हजार ५० भन्दा बढी विद्यार्थीको पढाइ निरन्तरताका लागि वडा नं ९ स्थित सहरी विकास तथा भवन कार्यालय र साविक जिल्ला विकास समितिको जग्गामा अस्थायी सिकाइ केन्द्र (टीएलसी) निर्माण गर्न नगरपालिकाले सहमति दिएको छ।
भदौ २२, २०८३ सोमबार १०:१४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।