ताप्लेजुङमा ट्र्याक्टर खोलामा खस्दा चालकसहित दुई जना बेपत्ता

ताप्लेजुङमा ट्र्याक्टर खोलामा खस्दा चालकसहित दुई जना बेपत्ता

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङबाट काठ (गोलिया) लिएर दोभानतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भई मैवाखोलामा खस्दा दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विन्देश्वर यादवका अनुसार सोमबार बिहान करिब २:४० बजे आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डअन्तर्गत मैवाखोलाको पुल छेउबाट ट्र्याक्टर करिब १५ मिटर तल खोलामा खसेको हो।

दुर्घटनामा ट्र्याक्टर चालक समीर बराइली र त्यसमा सवार अनिल नाल्बो बेपत्ता भएका छन्।

हालसम्म नम्बर खुल्न नसकेको उक्त ट्र्याक्टर खसेको स्थानबाट करिब २० मिटर तल बगरमा भेटिए पनि चालक बराइली र नाल्बो भने फेला परेका छैनन्।

ट्र्याक्टरमा सवार २४ वर्षीय समीर नाल्बोले दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय दोभानमा जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो।

बेपत्ताहरूको खोजी तथा घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

भदौ २२, २०८३ सोमबार ०९:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।