बाढीपछि रसुवामा ७८ प्रतिशत घरमा बिजुली बल्यो
काठमाडौं : भोटेकोशी नदीको बाढीले विद्युत् पूर्वाधारमा व्यापक क्षति पुर्याएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गर्न सक्रियता बढाएको छ।
हालसम्म धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
बाँकी क्षेत्रहरूमा पनि चाँडोभन्दा चाँडो बिजुली पुर्याउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर खटिएका छन्।
यसैबीच, बाढीबाट प्रभावित माथिल्लो त्रिशूली-३ ‘ए’, माथिल्लो त्रिशूली-३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली-१ र मैलुङ खोला लगायतका जलविद्युत् आयोजनाहरूमा खोज तथा उद्धार कार्य जारी राखिएको छ।
चिलिमे आयोजनामा हेलिकप्टरमार्फत ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प पुर्याइएको छ भने रसुवागढी आयोजनाको विद्युत्गृह तथा आसपासको क्षेत्रसम्म उद्धार टोली पुग्न सफल भएको छ।
यस्तै, लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो र ठूला चट्टान हटाउने काम भइरहेको छ भने माथिल्लो त्रिशूली-३ ‘बी’मा मिनी एक्स्काभेटर र ‘बक्याट’ प्रयोग गरी भग्नावशेष पन्छाउने कार्य जारी छ।
मन्त्रालयका अनुसार मैलुङ खोला जलविद्युत् आयोजनामा नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत रेकी (निरीक्षण) गरेका छन्।
यस्तै, बाढी प्रभावित आयोजनाका सुरुङबाट सकुशल उद्धार गरिएका प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको हाल छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।
केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न समय लाग्ने विकट तथा अवरुद्ध क्षेत्रका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राहतस्वरूप सौर्य विद्युत् प्रणाली पठाइएको छ।
जसअन्तर्गत हालसम्म कार्यालय प्रयोजनका लागि १३ वटा र घरायसी प्रयोजनका ५०० वटा सौर्य प्रणाली प्रभावित क्षेत्रमा पुगिसकेका छन्।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यका अनुसार रसुवामा तत्काल विद्युत् सेवा सञ्चालन गर्न नसकिने स्थानका थप १ हजार २६८ घरधुरी पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी गरिएको छ।
उनले सडक सञ्जाल अवरुद्ध भएका स्थानमा हेलिकप्टरमार्फत ती सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
भदौ २२, २०८३ सोमबार ०७:२७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।