भोटेकोशी बाढी विपद् : आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

भोटेकोशी बाढी विपद् : आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्मानमा सरकारले आज सोमबार देशभर राष्ट्रिय शोक व्यक्त गर्दैछ।

भदौ १८ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आज नेपालभरका सबै सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

गत भदौ १० गतेको भीषण बाढीले पुर्याएको अकल्पनीय मानवीय क्षतिको विवरण सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले आइतबार साँझसम्म १ हजार ३४२ जनाको शव फेला परेको र अझै ३ हजार ९९२ जना सम्पर्कविहीन रहेको जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ५३० पुरुष र ३२८ महिलाको सनाखत हुन सके पनि ४९५ वटा शव भने पहिचान गर्न नसकिने क्षतविक्षत अवस्थामा छन्।

त्यस्तै, अझै बेपत्ता रहेकामध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन् भने विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला रहेका छन्।

प्रभावित क्षेत्रमा शव व्यवस्थापन र पहिचानको कामलाई सुरक्षा निकायले उच्च प्राथमिकताका साथ अघि बढाएका छन्।

हालसम्म फेला परेकामध्ये १ हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान प्रक्रिया जारी छ। शवको वैज्ञानिक सनाखतका लागि डिएनए परीक्षण तीव्र पारिएको छ।

यस क्रममा १ हजार १८१ मृतक र १ हजार १९५ आफन्त गरी कुल २ हजार ३७६ जनाको डिएनए नमुना सङ्कलन भइसकेको प्रहरीले जनाएको छ।

यता, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको सकुशल उद्धार गरिएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार कठिन भौगोलिक अवस्था, अवरुद्ध सडक सञ्जाल र नदीको उच्च बहावका बीच खोज, उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

उद्धार कार्यलाई तीव्रता दिन हवाई साधनको व्यापक प्रयोग गरिएको छ; जसअन्तर्गत नेपाली सेनाले १ हजार ४५ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन्।

उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा सञ्चालित ‘होल्डिङ सेन्टर’हरूमा हाल ३ हजार ९१२ जना आश्रित छन्। यस्तै, घाइते तथा प्रभावित ६ हजार ७३ जनालाई तत्काल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि तीनवटै सुरक्षा अङ्ग र सम्बन्धित सरकारी निकायका टोलीहरू अझै पनि निरन्तर परिचालित छन्।

भदौ २२, २०८३ सोमबार ०७:२२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।