बाढी आएपछि नुवाकोट कारागारबाट भागेका थिए ५० कैदी, सुरक्षाकर्मीमाथि आक्रमण
काठमाडौं : भदौ १० मा त्रिशूलीमा बाढी आएपछि नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारबाट ५० जना कैदी भागेको र अन्यले भाग्न सुरक्षाकर्मीमाथि आक्रमण गरेको खुलेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले नै यो घटना सार्वजनिक गरेका हुन्। सो स्थानमा ९ सय २३ कैदीबन्दी रहेका छन्। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि कारागारमा क्षति पुगेको थियो।
त्यसपछि कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्डरहरूसहित ५२ जना सुरक्षाकर्मीले २ वटा भवनमा राखिएका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सारेका थिए।
“त्यो बेलासम्म त्रिशूलीको तटीय क्षेत्रमा रहेको कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खाल ढाल्दै केहीबेर अघिसम्म कैदीबन्दीहरू राखिएको भवनहरूको पहिलो तलासम्म लेदोसहित बाढी पसिसकेको थियो” प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्।
बाढीको मौका छोपेर पर्खाल र गेट तोडी ५० जना कैदीबन्दी सय मिटर परसम्म भागेको र भाग्न नपाएका कैदीबन्दीहरूले आक्रमण गरेका थिए। भागेका कैदीबन्दीलाई तत्काल नियन्त्रणमा लिएको र कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका थिए।
भदौ २१, २०८३ आइतबार २१:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।