भोटेकोशी बाढीपीडितलाई पठाउन लागिएको राहतमै म्याद गुज्रेको खाद्य सामग्री

भोटेकोशी बाढीपीडितलाई पठाउन लागिएको राहतमै म्याद गुज्रेको खाद्य सामग्री

काठमाडौं : भोटेकोशी बाढीपीडितलाई वितरण गर्न ठिक पारिएका राहत सामग्रीमा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएका छन्।

विपद्‌मा परेका नागरिकका लागि पठाउन लागिएका चामल, आटा, भुजा, चिप्स  र दालमोठजस्ता खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका हुन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंको संयुक्त टोलीले काठमाडौंका विभिन्न पाँच वटा भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएका हुन्।

अनुगमन टोलीले विशेषगरी बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा भण्डारण गरिएका सामग्रीको निरीक्षण गरेको थियो। विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार राहत संकलन र प्याकेजिङ भइरहेका यी स्थानमा म्याद सकिएका वस्तुलाई अन्य असल सामग्रीसँगै वितरणका लागि तयारी अवस्थामा राखिएको थियो।

राहतका लागि प्याकिङ भइरहेका सामग्रीमध्ये यशोदा फुड्स प्रालि (रुपन्देही) को ‘करेन्ट चिप्स’ र गिरिधारी फुड प्रडक्ट (बुटवल) को ‘भुजा’ म्याद सकिएको अवस्थामा भेटिएको छ। टोलीले ३० थान करेन्ट चिप्स र २१ बोरा भुजा वितरणमा रोक लगाउँदै जफत गरी ‘एक्स्पायर्ड जोन’ मा राख्न लगाएको छ।

भण्डारण गरिएका सामग्रीमध्ये दुई प्याकेट (१८ पिस) चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद सकिएको भेटिएको छ। साथै, त्यहाँ राखिएको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन जम्मा दुई दिन मात्र बाँकी थियो। दुई दिन मात्र म्याद बाँकी रहेको दालमोठ बाढीपीडितसम्म पुग्दा उपभोग गर्न अयोग्य हुने भएकाले टोलीले त्यसलाई पनि वितरणमा रोक लगाएको छ।

अनुगमनका क्रममा जयश्री उसिना चामलको २५ किलोको एक बोरा म्याद सकिएको अवस्थामा भेटिएको छ।

विपद्को बेला मारमा परेका नागरिकलाई म्याद गुज्रेका अखाद्य वस्तु वितरण गर्दा उनीहरूको जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले लापरबाही गर्नेहरूमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।

भदौ २१, २०८३ आइतबार १८:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।